२० जिल्लामा गर्मीको उच्च जोखिम, १४ जिल्लामा तातो हावाको लहर चल्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका कम्तिमा २० जिल्ला तातो दिन र तातो हावाको लहरबाट प्रभावित हुने पूर्वानुमान गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार आगामी दुई दिन अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने सम्भावना रहेको छ।

विभागले शुक्रबार विशेष बुलेटिन जारी गर्दै बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा तातो हावाको लहर चल्ने जनाएको छ। यी जिल्लामा तापक्रम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

त्यसैगरी कञ्चनपुर, कैलाली, नवलपरासी पूर्व (नवलपुर), चितवन, सुनसरी, मोरङ र झापामा तातो दिन रहने सम्भावना रहेको विभागले जनाएको छ। ती क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी सूचनाबारे नियमित जानकारी लिन सुझाव दिइएको छ। विभागका अनुसार हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहे पनि तराईका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना न्यून भएकाले गर्मी थप बढ्ने देखिएको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यद्यपि मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने छिटफुट वर्षाको सम्भावना मात्र रहेको छ।

विभागले तातो हावाको लहरबाट बच्न दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, सकेसम्म चिसो स्थानमा बस्न, हल्का तथा सुती कपडा लगाउन, टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *