रानी ताल पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य बन्दै, पर्यटकको चहलपहल बढ्दो
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–६ राजारानीस्थित रानी ताल पछिल्लो समय पूर्वी नेपालकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, बोटिङ, साइक्लिङ तथा मनोरञ्जनका विविध संरचनाका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्न थालेको छ।
केही वर्षअघिसम्म सामान्य पोखरी र धानखेतले चिनिने यो क्षेत्र अहिले पर्यटकको प्रमुख आकर्षण बनेको छ। हरियाली वनजंगलको काखमा रहेको ताल, आकर्षक फूलबारी, विशाल पिङ तथा चिसो मौसमले पर्यटकलाई लोभ्याउने गरेको छ।
रानी तालको विकासमा स्थानीय सुकपाल चेम्जोङको महत्वपूर्ण भूमिका रहेको छ। वैदेशिक रोजगारीका लागि कुवेत पुगेका चेम्जोङ गाउँ फर्किएपछि उपेक्षित पोखरीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने अभियानमा जुटेका थिए। उनी भन्छन्, “पहिले ताल निकै सानो थियो। पानीको स्रोत सीमित थियो। मुहान संरक्षण र ताल विस्तार गरेपछि यसको स्वरूप नै बदलियो।”
२०६३ सालदेखि स्थानीयवासीसँग मिलेर ताल संरक्षण अभियान सुरु गरिएको थियो। त्यसपछि तालको विस्तार, संरक्षण र सौन्दर्यीकरणका विभिन्न काम हुँदै आएका छन्। पछिल्लो तीन वर्षयता ताल क्षेत्रमा बोटिङ, साइक्लिङ, फूलबारी, विशाल पिङ तथा फोटो खिच्न मिल्ने संरचना निर्माण गरिएका छन्।
भेडेटारबाट करिब आठ किलोमिटर दूरीमा रहेको रानी तालमा सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, पाँचथर र धनकुटालगायत जिल्लाबाट दैनिकजसो पर्यटक पुग्ने गरेका छन्। गर्मीयाममा भारतका दार्जिलिङ, सिक्किम र बिहारबाट समेत पर्यटक आउने गरेको स्थानीय बताउँछन्।
हाल करिब १०४ रोपनी क्षेत्रफलमा फैलिएको रानी ताललाई थप व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको चेम्जोङले बताए। यद्यपि यति ठूलो सम्भावना हुँदाहुँदै पनि राज्यबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको उनको गुनासो छ।
उनका अनुसार स्थानीय तह र प्रदेश सरकारको सहयोग प्राप्त भए रानी ताल पूर्वी नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्छ। सानो पोखरीबाट सुरु भएको रानी तालको यात्रा अहिले ग्रामीण पर्यटन विकासको सफल उदाहरणका रूपमा स्थापित हुँदै गएको छ।
