चितवनमा जंगली हात्तीको आक्रमणमा आमा–छोराको मृत्यु, मानव–वन्यजन्तु द्वन्द्व फेरि सतहमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको जंगली हात्तीको आक्रमणमा भरतपुर महानगरपालिका–२३ बेलहट्टामा एक आमा र उनका चार वर्षीय छोराको ज्यान गएको छ। शनिबार राति आफ्नै घरमा रहेका बेला भएको आक्रमणमा दुवैको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा २१ वर्षीया अशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटे रहेका छन्। भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दीपक दवाडीका अनुसार निकुञ्जबाट बस्तीमा आएको हात्तीले घरमै आक्रमण गर्दा उनीहरूको ज्यान गएको हो।

घटनापछि स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र चितवन राष्ट्रिय निकुञ्ज प्रशासनबीच आकस्मिक छलफल भएको छ। छलफलमा जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक पहल गर्ने, मृतक परिवारलाई निकुञ्जमार्फत तत्काल राहत उपलब्ध गराउने, घर पुनर्निर्माणमा सहयोग गर्ने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी उपाय तत्काल कार्यान्वयन गर्ने सहमति भएको वडाध्यक्ष दवाडीले जानकारी दिए।

पछिल्ला वर्षहरूमा चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जंगली हात्ती प्रवेश गर्ने घटना बढ्दै गएकाले स्थानीयवासी त्रसित बनेका छन्। यस घटनाले मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि दीर्घकालीन र प्रभावकारी उपायको आवश्यकता पुनः उजागर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *