खेतमा गाईवस्तु छाड्ने विषयमा विवाद, विराटनगरमा बाबुछोरा पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवामा गाईवस्तु खेतमा छाडिएको विषयलाई लिएर सुरु भएको सामान्य विवाद कुटपिटमा परिणत हुँदा एक महिला घाइते भएकी छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बाबुछोरालाई पक्राउ गरी अनुसन्धान थालेको छ।

शनिबार दिउँसो करिब ४ बजेतिर स्थानीयबीच खेतमा गाईवस्तु प्रवेश गराएको विषयमा भनाभन भएको थियो। विवाद चर्किँदै जाँदा ५८ वर्षीया लक्ष्मी यादवमाथि कुटपिट भएको मोरङ प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ सीआरभी जतुवाबाट असई उर्मिला गुरुङको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। कुटपिटबाट घाइते भएकी लक्ष्मी यादवको उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार घटनामा संलग्न रहेको आरोपमा विराटनगर–१४ जतुवाका ५९ वर्षीय धनपत यादव र उनका ३७ वर्षीय छोरा राजेश यादवलाई पक्राउ गरिएको छ। दुवैलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको उनले बताए।

प्रहरीका अनुसार घटनाको वास्तविक कारण, कुटपिटको प्रकृति तथा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *