धरानमा ज्येष्ठ नागरिक उद्यान आकर्षणको केन्द्र बन्दै, दैनिक बढ्दै पर्यटकको चहलपहल
सुनसरी । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना र सांस्कृतिक आकर्षणका कारण नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा उद्यानले दैनिक आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ।
ज्येष्ठ नागरिकको आवश्यकता र सहजतालाई केन्द्रमा राखेर निर्माण भइरहेको उद्यानमा अपाङ्गतामैत्री पैदलमार्ग, विश्रामस्थल, चौतारा, आरामघर तथा प्राथमिक उपचार कक्षको व्यवस्था गरिएको छ। ह्वीलचेयर प्रयोगकर्तालाई समेत सहज हुने गरी संरचना निर्माण गरिएको निर्माण समितिले जनाएको छ।
धनकुटाको छथर जोरपाटीबाट परिवारसहित उद्यान अवलोकन गर्न पुगेकी रमिला राईले ज्येष्ठ नागरिकका लागि यस्तो सुविधा सम्पन्न उद्यान निर्माण हुनु सकारात्मक कदम भएको बताइन्। उनका अनुसार शान्त वातावरण, सहज आवागमन र विश्रामका पर्याप्त सुविधा भएकाले उद्यान ज्येष्ठ नागरिकका लागि उपयुक्त गन्तव्य बनेको छ।
उद्यानभित्र खरले छाइएका र कमेरो माटोले लिपिएका साना घर, आकर्षक पोखरी तथा ग्रामीण जीवनशैली झल्काउने संरचना निर्माण गरिएका छन्। साथै विभिन्न जातजातिको संस्कार, संस्कृति र पहिचान झल्काउने सामग्रीसमेत राखिएकाले उद्यानले सांस्कृतिक संग्रहालयको अनुभूति दिलाउने गरेको छ।
निर्माण समितिका भूपू सैनिक इन्जिनियर दीपेन्द्र राईका अनुसार उद्यानको डिजाइन थ्रीडी मोडलिङ प्रविधिको प्रयोग गरेर तयार गरिएको हो। श्रमदान र दाताहरूको सहयोगमा निर्माण भइरहेको उद्यानलाई प्राप्त सुझावअनुसार थप परिमार्जन गर्दै अन्तिम रूप दिइँदै लगिएको उनले बताए।
उद्यान आसपासमा श्रम संस्कृति उद्यान, एसडिएस रक गार्डेन, एसएनएस चौतारी, एसडिबी रोज गार्डेन, झाँक्री दह, श्रमदान चौतारी, आरा धरान तथा मौनता क्षेत्र (ग्रीन बुद्ध) लगायतका दर्जनौँ आकर्षक संरचना निर्माण भइसकेका छन्। यसले उक्त क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुगेको छ।
स्थानीय व्यवसायी दिनेश मगरका अनुसार केही वर्षअघिसम्म सुनसान रहेको क्षेत्रमा अहिले दैनिक हजारौँ पर्यटक पुग्न थालेका छन्। श्रम, संस्कृति, प्रकृति र मनोरञ्जनलाई एकै स्थानमा अनुभव गर्न सकिने भएकाले यो क्षेत्र धरानको नयाँ पर्यटन केन्द्रका रूपमा विकसित हुँदै गएको उनले बताए।
ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको समिश्रणले निर्माणाधीन ज्येष्ठ नागरिक उद्यानलाई धरानको नयाँ पहिचानका रूपमा स्थापित गरिरहेको छ।
