थुनुवा फरार प्रकरण : थप एक पक्राउ, चार जना अझै फरार

धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार ६ थुनुवामध्ये थप एक जना पक्राउ परेका छन् । हिरासतबाट फरार भएका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल पक्राउ परेका हुन् ।

यसअघि फरार रहेका थुनुवा मिथिला नगरपालिका–२ नक्टाझिजका रोशन महतोलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । चार थुनुवा अझै फरार छन् । उनीहरुको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

फरार थुनुवाको जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरको संयुक्त टोलीले खोजी गरिरहेको छ । आइतबार राति हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ थुनुवा फरार भएका थिए । थुनुवा फरार भएपछि उक्त प्रहरी कार्यालय इन्स्पेक्टरसहित सबै प्रहरी जिल्ला तानिएका छन् भने तीन जना निलम्बनमा परेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ