बीमा सर्भेयर निर्देशिकामा संशोधन गर्न संघको माग, ‘नयाँ व्यवस्थाले पेशागत अन्योल बढायो’

काठमाडौं । नेपाल बीमा सर्भेयर संघ (निस्सा) ले नेपाल बीमा प्राधिकरणद्वारा जारी गरिएको बीमा सर्भेयरसम्बन्धी निर्देशिका–२०८३ का केही व्यवस्थाप्रति असहमति जनाउँदै त्यसको पुनरावलोकन गर्न माग गरेको छ। संघले नयाँ व्यवस्थाले सर्भेयरहरूको पेशागत अधिकार, कार्यक्षेत्र तथा इजाजतपत्र व्यवस्थापनमा अन्योल सिर्जना गरेको जनाएको हो।

बीमा सर्भेयरको कार्यलाई व्यवस्थित, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउने उद्देश्यले नेपाल बीमा प्राधिकरणले उक्त निर्देशिका लागू गरेको हो। निर्देशिकाले व्यावसायिक निष्ठा, जवाफदेहिता तथा बीमितको वास्तविक क्षतिको निष्पक्ष मूल्याङ्कन सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

तर, संघका सभापति ऋषि कोइराला र महासचिव नवीन भट्टद्वारा जारी संयुक्त विज्ञप्तिमा निर्देशिकाको परिच्छेद–२ अन्तर्गत रहेको इजाजतपत्रसम्बन्धी व्यवस्था स्पष्ट नभएको उल्लेख गरिएको छ। विशेषगरी ‘कुन पोर्टफोलियोमा काम गर्ने’ भन्ने विषय अस्पष्ट रहेकाले व्यवहारिक समस्या उत्पन्न हुने संघको भनाइ छ।

संघका अनुसार हाल कार्यरत सर्भेयरहरू विगतमा नेपाल बीमा प्राधिकरण तथा तत्कालीन बीमा समितिबाट स्वीकृत पोर्टफोलियोअनुसार नै कार्य गर्दै आएका छन्। तर नयाँ निर्देशिकाले इजाजतपत्र प्राप्त सर्भेयरलाई तीन महिनाभित्र आफूले काम गर्ने पोर्टफोलियो छनोट गरी पुनः निवेदन दिनुपर्ने व्यवस्था गरेकाले लामो समयदेखि कार्यरत सर्भेयरहरू अन्योलमा पर्ने अवस्था सिर्जना भएको छ।

विज्ञप्तिमा बीमा ऐन, २०४९ अन्तर्गत विभिन्न नियम तथा विनियमबमोजिम स्थापना कालदेखि नै इजाजतपत्र लिएर कार्यरत सर्भेयरहरूको अधिकारलाई नयाँ व्यवस्थाले प्रभावित गर्न नहुने उल्लेख गरिएको छ। संघले पहिले नै स्वीकृत कार्यक्षेत्रलाई पछिल्लो निर्देशिकाले फरक ढंगले व्याख्या गर्न नमिल्ने तर्कसमेत गरेको छ।

संघले कानुनी शासन, व्यावहारिक एकरूपता तथा स्थापित प्रशासनिक सिद्धान्तअनुसार विगतमा जारी भएका इजाजतपत्रमा उल्लेखित कार्यक्षेत्र यथावत् कायम राख्नुपर्ने माग गरेको छ। आवश्यक परे भविष्यमा लागू हुने गरी स्पष्ट मापदण्ड निर्धारण गर्न सकिने तर विगतदेखि कार्यरत सर्भेयरहरूको अधिकारमा असर पुग्ने व्यवस्था सच्याउनुपर्ने संघको धारणा छ।

संघले सामान्य संशोधनमार्फत निर्देशिकाका विवादित प्रावधान सच्याउन आग्रह गर्दै यसबाट सर्भेयरहरूको पेशागत स्थायित्व, बीमा क्षेत्रको विश्वसनीयता र बीमितको हितसमेत सुरक्षित हुने जनाएको छ।

बीमा सर्भेयरहरू बीमा दाबीका क्रममा भएको वास्तविक क्षतिको प्राविधिक मूल्याङ्कन गर्ने विशेषज्ञ हुन्। उनीहरूले तयार गर्ने प्रतिवेदनका आधारमा बीमा कम्पनीहरूले दाबी भुक्तानी प्रक्रिया अघि बढाउने भएकाले बीमा प्रणालीमा उनीहरूको निष्पक्षता, दक्षता र विश्वसनीयता अत्यन्त महत्वपूर्ण मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *