रास्वपामा भागबण्डाको रस्साकस्सी, १२ पदाधिकारी र ५१ केन्द्रीय सदस्य मनोनयन अझै अन्योलमा
काठमाडौं । पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनलाई लिएर आन्तरिक शक्ति सन्तुलनको विवाद देखिएको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह पक्षबीच भागबण्डामा सहमति हुन नसक्दा १२ पदाधिकारी र ५१ मनोनीत केन्द्रीय सदस्यको नियुक्ति अझै टुंगिन सकेको छैन।
पार्टी स्रोतका अनुसार दुवै पक्षबीच ५०–५० वा ६०–४० प्रतिशतको अनुपातमा जिम्मेवारी बाँडफाँट गर्ने विषयमा छलफल भए पनि अन्तिम सहमति जुट्न सकेको छैन। हालै पारित पार्टी विधानमा सभापतिको निर्देशन उल्लंघन गर्ने संसदीय दलका नेतालाई पदमुक्त गर्न सकिने व्यवस्था थपिएपछि शाह पक्ष थप सतर्क बनेको बताइन्छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट सभापतिसहित सात पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य तथा सहमहामन्त्रीमा असीम शाह, हरि ढकाल र निशा डाँगी निर्वाचित भएका छन्।
पार्टी विधानअनुसार वरिष्ठ नेतासँगको परामर्शमा सभापतिले एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष गरी १२ पदाधिकारी मनोनयन गर्ने व्यवस्था छ। वरिष्ठ नेताको जिम्मेवारी बालेन्द्र शाहले सम्हाल्ने भए पनि बाँकी पदाधिकारीको टुंगो अझै लागेको छैन।
रास्वपाका एक नेताका अनुसार सभापति र वरिष्ठ नेता पक्षबीच सिफारिस हुने संख्या, समावेशिता तथा शक्ति सन्तुलनका विषयमा सहमति नजुटेकै कारण मनोनयन प्रक्रिया लम्बिएको हो। महाधिवेशनपछि निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ ग्रहण गरिसके पनि केन्द्रीय समिति अझै अपूर्ण अवस्थामा रहेको छ।
पार्टी विधानअनुसार १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। सातै प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य रहनेछन् भने १२ पदाधिकारी र ५१ केन्द्रीय सदस्य मनोनयनमार्फत चयन गरिनेछन्। केन्द्रीय समिति पूर्ण भएपछि ३३ सदस्यीय सचिवालय गठन गर्ने तयारी छ।
मनोनीत पदाधिकारीमा दुवै पक्षको दाबेदारी तीव्र छ। शाह पक्षले आधाभन्दा बढी हिस्सा माग गरेको बताइँदा लामिछाने पक्ष भने ६०–४० प्रतिशतको आधारमा शक्ति बाँडफाँट हुनुपर्ने अडानमा रहेको स्रोतको दाबी छ।
मनोनीत उपसभापतिका लागि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको नाम चर्चामा रहेको छ भने महामन्त्रीमा पूर्वमहामन्त्री भूपदेव शाह र गृहमन्त्री सुधन गुरुङ दाबेदार रहेको बताइएको छ। प्रवक्तामा प्रमोद न्यौपाने, सहमहामन्त्रीमा लक्ष्मण थारू, कोषाध्यक्षमा लीमा अधिकारी तथा सहकोषाध्यक्षमा बसुमाया तामाङलाई निरन्तरता दिने सम्भावनासमेत रहेको स्रोतको भनाइ छ।
यता वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो सरकारी सचिवालय पनि पुनर्गठन गर्ने तयारी थालेका छन्। पार्टीको केन्द्रीय जिम्मेवारीमा निर्वाचित सचिवालय सदस्यलाई सरकारी भूमिकाबाट हटाएर संगठन निर्माणमा केन्द्रित गराउने रणनीति बनाइएको स्रोतले जनाएको छ।
यसअन्तर्गत सहमहामन्त्री निर्वाचित राजनीतिक सल्लाहकार असीम शाह, केन्द्रीय सदस्य बनेका नीति तथा प्रशासन सल्लाहकार सुदीप ढकाल तथा स्वकीय उपसचिव प्रकृति ढकाल सचिवालयबाट बाहिरिने निश्चित भएको बताइएको छ। मुख्य स्वकीय सचिव सुवास शर्माको जिम्मेवारी पनि परिवर्तन हुन सक्ने चर्चा छ।
स्रोतका अनुसार कार्यसम्पादनप्रति असन्तुष्टि तथा राहदानी छपाइ ठेक्का प्रकरणसँग केही सदस्यको नाम जोडिएपछि सचिवालय पुनर्गठनको तयारी गरिएको हो। रिक्त हुने स्थानमा विज्ञ तथा पूर्वसचिवसहित नयाँ टोली ल्याउने गृहकार्य भइरहेको जनाइएको छ।
