विश्व दूध दिवस आज : पोषण, रोजगारी र ग्रामीण अर्थतन्त्रमा दुग्ध क्षेत्रको महत्वपूर्ण योगदान

काभ्रेपलाञ्चोक । विश्वभर २६औँ विश्व दूध दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। पोषण, खाद्य सुरक्षा, स्वास्थ्य तथा जीविकोपार्जनमा दुग्ध क्षेत्रले पुर्‍याएको योगदानलाई सम्मान गर्दै नेपालमा पनि सरकारी तथा निजी निकायहरूको सहभागितामा विविध कार्यक्रम आयोजना गरिएको छ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सन् २००१ देखि जुन १ लाई विश्व दूध दिवसका रूपमा मनाउन थालेको हो। नेपालले भने सन् २०११ देखि यो दिवस मनाउँदै आएको छ। दिवसको मुख्य उद्देश्य आम नागरिकलाई गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थको महत्वबारे सचेत गराउँदै यसको उपभोग बढाउन प्रेरित गर्नु हो।

राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा पशु सेवा विभाग, दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय दुग्ध सहकारी संघ लगायतका निकायहरूले जेठ १४ देखि १९ गतेसम्म साताव्यापी कार्यक्रम सञ्चालन गरेका छन्। काठमाडौंमा आयोजित मुख्य समारोहमा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी सहभागी हुने कार्यक्रम रहेको छ।

दुग्ध विकास बोर्डका अनुसार नेपालको कृषि अर्थतन्त्रमा दुग्ध क्षेत्रको भूमिका निकै महत्वपूर्ण छ। कुल कृषि गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान करिब २५ प्रतिशत रहेको छ, जसमा दुग्ध क्षेत्र प्रमुख आधार बनेको छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २७ लाख १८ हजार १७७ मेट्रिक टन दूध उत्पादन भएको तथ्यांक छ।

बोर्डका अधिकृत दीपेन्द्र अधिकारीका अनुसार दुग्ध क्षेत्रले ग्रामीण अर्थतन्त्रमा वार्षिक करिब २८ अर्ब रुपैयाँ गाउँतर्फ प्रवाह गर्दै ३ लाख ८० हजारभन्दा बढी परिवारलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ। दूध बिक्रीबाट हुने नियमित आम्दानीले किसानको जीवनस्तर सुधार्नुका साथै शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरणमा समेत सकारात्मक प्रभाव पारेको छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार दूध प्रोटिन, क्याल्सियम तथा विभिन्न भिटामिनले भरिपूर्ण भएकाले यसलाई सन्तुलित आहारका रूपमा लिइन्छ। बाल कुपोषण, पुड्कोपन तथा कम तौलजस्ता समस्या न्यूनीकरण गर्न विद्यालयस्तरमा दूध सेवनलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन्।

नेपालमा हाल काभ्रेपलाञ्चोक, विराटनगर, चितवन, पोखरा, भक्तपुर, सुनसरी र हेटौंडालगायत विभिन्न स्थानमा धूलो दूध उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्। यी उद्योगहरूले वार्षिक करोडौँ लिटर दूध प्रशोधन गर्दै हजारौँ मेट्रिक टन धूलो दूध उत्पादन गरिरहेका छन्।

पछिल्ला वर्षहरूमा दुग्धजन्य पदार्थको व्यापारमा उल्लेखनीय वृद्धि भएको तथ्यांकले यस क्षेत्रको औद्योगिक तथा निर्यात सम्भावना अझ उज्ज्वल बन्दै गएको देखाएको छ। विश्व दूध दिवसले दूधको महत्वबारे जनचेतना फैलाउनुका साथै किसान, उद्योग र उपभोक्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *