सुन्दरहरैंचामा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा (मोरङ) – मोरङको सुन्दरहरैंचा–७ स्थित पञ्चायत माध्यमिक विद्यालयको प्राङ्गणमा लालिगुरास भजन कीर्तन समूहको आयोजनामा र सहायता सामाजिक संस्था नेपाल, सुन्दरहरैंचा–७को सहआयोजनामा तीज विशेष कार्यक्रम मंगलबार सम्पन्न भएको छ।
हरितालिका तीजको अवसरमा आयोजित उक्त कार्यक्रममा नृत्य, नाटक तथा गीतका विभिन्न प्रस्तुति गरिएको थियो। कार्यक्रमलाई स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चौलागाईंले प्रमुख आतिथ्यतामा सम्बोधन गरेका थिए भने कार्यक्रमको अध्यक्षता लालिगुरास भजन कीर्तन समूहका कार्यबाहक अध्यक्ष पोस्ट कुमार श्रेष्ठले गरेका थिए।
कार्यक्रममा सुन्दरहरैंचा–७ का वडाअध्यक्ष भुवन सिंह आले मगर, कलाकार गंगा गौतम, स्थानीय दिदीबहिनी लगायत हजारौँको उत्साहपूर्ण उपस्थिति रहेको थियो। सहभागीहरूले तीजलाई धार्मिक आस्था, सांस्कृतिक धरोहर र सामाजिक एकताको पर्वका रूपमा मनाउनुपर्ने धारणा राखेका थिए।
