सुन्दरहरैचामा चिकित्सा शिक्षाको नयाँ अध्याय : पूर्वाञ्चल विश्वविद्यालयमा एमबीबीएस अध्ययन सुरु

एलएन गच्छदार /सुन्दरहरैंचा ।

मोरङको सुन्दरहरैचा नगरपालिका गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेडिसिन मा एमबीबीएस कार्यक्रम औपचारिक रूपमा सुरु भएसँगै सुन्दरहरैचामा शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ। पहिलो ब्याचका ४६ नेपाली र ४ विदेशी विद्यार्थी गरी ५० जना लाई लक्षित गर्दै अभिमुखिकरण तथा “सेतो कोट” स्वागत कार्यक्रम आयोजना गरिएको हो।

मंगलबार आयोजित कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूलाई सेतो कोट प्रदान गर्दै चिकित्सकीय शिक्षाको औपचारिक सुरुआत गराइएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई विश्वविद्यालयको शैक्षिक प्रणाली, चिकित्सा शिक्षाको महत्व तथा चिकित्सकका रूपमा भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे जानकारी गराइएको थियो।

कार्यक्रममा बोल्दै उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया ले गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्दै दक्ष र जिम्मेवार चिकित्सक उत्पादन गर्ने विश्वविद्यालयको लक्ष्य रहेको बताए। चिकित्सा शिक्षा केवल पेशा मात्र नभई समाजप्रतिको सेवा र जिम्मेवारीसँग जोडिएको क्षेत्र भएको उनले उल्लेख गरे।

त्यस्तै चिकित्सा शास्त्र संकायका डीन डा. शैलेशमणि पोखरेल ले चिकित्सा क्षेत्रमा अनुशासन, समर्पण र सेवाभाव अत्यन्त आवश्यक हुने बताउँदै विद्यार्थीहरूलाई अध्ययनमा गम्भीरता र इमान्दारीका साथ लाग्न आग्रह गरे।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं ले सुन्दरहरैचामा एमबीबीएस अध्ययन सुरु हुनु स्थानीय समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताए। यसले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै विश्वविद्यालयको स्तर उन्नतिका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने पनि बताए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले चिकित्सा शिक्षा केवल पेशा नभई समाजप्रतिको सेवा र जिम्मेवारी भएको उल्लेख गर्दै अनुशासन, मेहनत र समर्पणका साथ अध्ययन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। भविष्यमा दक्ष र जिम्मेवार चिकित्सक बनेर देश तथा समाजको स्वास्थ्य सेवामा योगदान पुर्‍याउने लक्ष्य रहेको उनीहरूको भनाइ थियो।

डा. रोस्ना पौडेल र डा. एलिना तिवारी ले सञ्चालन गरेको उक्त कार्यक्रम चिकित्सा शास्त्र संकायका डीन डा. शैलेशमणि पोखरेल को सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा रजिस्ट्रार डा. कल्याणी मिश्र त्रिपाठी, प्रो.डा. सतीस देव, प्रो.डा. भोलानाथ घिमिरे, डा. सन्देश दास श्रेष्ठ, डा. कोमलप्रसाद दुलाल, प्रो.डा. पवनकुमार झा लगायत प्राध्यापक, सिनेट सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


उच्च शिक्षाको महत्वपूर्ण केन्द्र : पूर्वाञ्चल विश्वविद्यालय

वि.सं. २०५० साल (सन् १९९३) मा नेपाल सरकारद्वारा स्थापना गरिएको पूर्वाञ्चल विश्वविद्यालय नेपालका प्रमुख सार्वजनिक विश्वविद्यालयमध्ये एक हो। पूर्वाञ्चल विश्वविद्यालय ऐन अन्तर्गत स्थापना भएको यस विश्वविद्यालयको उद्देश्य देशभर उच्च शिक्षाको पहुँच विस्तार गर्नु र विशेषगरी पूर्वी नेपालमा उच्च शिक्षा अवसरलाई विकेन्द्रीकरण गर्नु रहेको छ।

हाल करिब ४० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको यस विश्वविद्यालयलाई नेपालकै दोस्रो ठूलो विश्वविद्यालय का रूपमा चिनिन्छ। विश्वविद्यालयले स्वास्थ्य विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान तथा प्रविधि र सामाजिक विज्ञान लगायत विभिन्न बहुविषयक शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

“नेतृत्व र सामाजिक रूपान्तरणका लागि शिक्षा” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिँदै आएको छ।

मोरङको गोठगाउँ मा रहेको यसको केन्द्रीय कार्यालय करिब ५४५ हेक्टर क्षेत्रफलमा फैलिएको हरियाली परिसर मा अवस्थित छ, जहाँ शान्त, स्वच्छ र अध्ययनका लागि अनुकूल शैक्षिक वातावरण रहेको बताइन्छ।

पूर्वाञ्चल विश्वविद्यालयले देशभर विभिन्न सम्बन्धन प्राप्त कलेजहरू विस्तार गर्दै चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन तथा विज्ञान का व्यावसायिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै अनुसन्धान, नवप्रवर्तन तथा स्वास्थ्य सेवासम्बन्धी तालिममार्फत दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग सहकार्य गर्दै अनुसन्धान तथा शैक्षिक आदानप्रदानलाई पनि प्रवर्द्धन गर्दै आएको छ। एमबीबीएस कार्यक्रम सुरु भएसँगै सुन्दरहरैचा मात्र नभई समग्र प्रदेशका लागि चिकित्सा शिक्षामा नयाँ सम्भावना खुल्ने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *