टिकाराम ढकाल प्याब्सनको केन्द्रीय उपाध्यक्षमा निर्वाचित
एलएन गच्छदार / सुन्दरहरैंचा
नेपाल निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को १६औं राष्ट्रिय महाधिवेशनमा मोरङबाट प्रतिनिधित्व गर्दै कोशी प्रदेशको भूगोलबाट टिकाराम ढकाल केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।
शिक्षा क्षेत्रको अनुभवी व्यक्तित्वका रूपमा परिचित ढकाल संगठनात्मक रूपमा लामो समयदेखि सक्रिय छन्। उनले महाधिवेशन प्रतिनिधि हुँदै जिल्ला र प्रदेश तहमा विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन्। प्याब्सन मोरङको जिल्ला कार्यसमितिमा दुई कार्यकाल सदस्य (२०६१-२०६६), दुई कार्यकाल सचिव (२०६६-२०७०) र एक कार्यकाल अध्यक्ष (२०७०-२०७३) भईसकेका ढकाल कोशी प्रदेश सचिव (२०७३-२०७५), वरिष्ठ उपाध्यक्ष (२०७५-२०७८) र हालै प्रदेश अध्यक्ष (२०७८-२०८१) को भूमिका सफलतापूर्वक निभाएका थिए।
शिक्षा क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव संगालेका ढकाल सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुरमा रहेको ब्राइट फ्युचर सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल हुन्। उनले निजी विद्यालयहरूको सशक्तीकरण, गुणस्तरीय शिक्षा प्रवर्द्धन र शैक्षिक नीतिहरूमा आवश्यक सुधारको पक्षमा लामो समयदेखि योगदान पुर्याउँदै आएका छन्।
उनको नेतृत्वमा कोशी प्रदेश प्याब्सनले निजी विद्यालयहरूको हकहितका लागि महत्वपूर्ण नीति तथा कार्यक्रमहरू अघि बढाएको थियो। अब केन्द्रीय तहमा उनले कसरी नेतृत्व लिन्छन् भन्ने कुरामा सबैको चासो बढेको छ।
