कांग्रेस एकताका लागि डा. शेखर कोइरालाको पाँचबुँदे प्रस्ताव

काठमाडौं डा. शेखर कोइराला ले नेपाली कांग्रेसभित्र बढ्दो विवाद र असन्तुष्टिबीच पार्टी एकतालाई बलियो बनाउन पाँचबुँदे प्रस्ताव अघि सारेका छन्। उनले १५औँ महाधिवेशनलाई सहमतिमार्फत व्यवस्थित र एकतामुखी बनाउन क्रियाशील सदस्यता सम्बन्धी व्यवस्थादेखि केन्द्रीय कार्यसमितिको संरचनासम्मका विषयमा साझा धारणा आवश्यक रहेको बताएका छन्।

डा. कोइरालाले पहिलो प्रस्तावका रूपमा १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको अध्यावधिकलाई अनिवार्य नबनाउने सुझाव दिएका छन्। त्यस्तै, १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखेका छन्।

उनले १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको कार्यसमितिलाई समायोजन गरेर एउटै संरचना बनाउने प्रस्ताव पनि अघि सारेका छन्। साथै कार्यसम्पादन समितिमा सभापतिको बहुमत रहने गरी गठन गर्नुपर्ने उल्लेख गरेका छन्।

निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति लगायतका महत्वपूर्ण समितिहरू आपसी सहमतिका आधारमा गठन गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ। डा. कोइरालाले पार्टीभित्र संवाद, सहमति र एकतालाई प्राथमिकता दिएर अघि बढे मात्रै कांग्रेसलाई थप बलियो बनाउन सकिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *