जेनजी आन्दोलनपछि झापाको सुरक्षा व्यवस्थामा असर, सवारी र हतियार अभावले प्रहरीलाई चुनौती

झापा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि झापाको सुरक्षा व्यवस्थामा अझै प्रभाव देखिएको छ। आन्दोलनका क्रममा प्रहरीका २५ वटा सवारी साधन पूर्णरूपमा नष्ट भएपछि गस्ती, अनुसन्धान तथा आकस्मिक घटनामा पुग्न प्रहरीलाई कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार आन्दोलनका बेला कुल १३२ वटा सवारी साधनमा आक्रमण भएको थियो। तीमध्ये १०७ वटा मर्मत गरेर पुनः सञ्चालनमा ल्याइए पनि २५ वटा सवारी साधन भने पूर्णरूपमा ध्वस्त भएका छन्। आगजनीबाट दुईवटा प्रहरी वानटन, सातवटा हलुका चारपाङ्ग्रे सवारी र १६ वटा मोटरसाइकल नष्ट भएका हुन्।

सवारी अभावका कारण जिल्लाका विभिन्न प्रहरी इकाइमा नियमित गस्ती व्यवस्थापनदेखि आकस्मिक घटनामा तत्काल पुग्नसमेत समस्या भइरहेको प्रहरी स्रोतले जनाएको छ। आन्दोलनपछि केही स्थानीय तहले अस्थायी रूपमा सवारी उपलब्ध गराएर सहयोग गरेका थिए। बिर्तामोड, दमककनकाई नगरपालिका ले प्रहरीलाई सवारी दिएका थिए। तर कनकाई नगरपालिकाले उपलब्ध गराएको गाडी केही दिनअघि फिर्ता लगेपछि समस्या थपिएको बताइएको छ।

लुटिएका १३ हतियार अझै फेला परेनन्

आन्दोलनका क्रममा झापाका विभिन्न प्रहरी कार्यालयबाट लुटिएका १३ वटा हतियार अझै फेला परेका छैनन्। प्रहरीका अनुसार हराइरहेका हतियारमध्ये सातवटा लामो र छवटा छोटो हतियार रहेका छन्। जेनजी आन्दोलनका बेला कुल १०३ वटा हतियार लुटिएका थिए। तीमध्ये हालसम्म ९० वटा मात्रै फेला परेका छन्, जसमा ८३ वटा लामो र सातवटा छोटो हतियार रहेका छन्। बाँकी हतियारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

५५ थुनुवा अझै फरार

आन्दोलनको असर थुनुवा फरार प्रकरणमा पनि देखिएको छ। भदौ २४ गतेको घटनाका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोड, दमक र झिलझिलेबाट १०२ जना थुनुवा फरार भएका थिए।घटनाको करिब नौ महिना बितिसक्दा पनि ५५ जना अझै फरार रहेको प्रहरीले जनाएको छ। हालसम्म ४७ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये केही तारेख, धरौटी तथा हाजिरी जमानीमा छुटेका छन् भने १९ जना अझै कारागारमा रहेका छन्।

प्रहरी अधिकारीहरूका अनुसार आन्दोलनले झापाको सुरक्षा संरचनामा ठूलो क्षति पुर्‍याएको छ। सवारी साधन, हतियार र जनशक्तिमा परेको असरका कारण सुरक्षा व्यवस्था पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन अझै समय लाग्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *