सुन्दरहरैंचा नगरपालिकामा अनलाइन नागरिकता सिफारिस प्रणाली (CCIMS) शुभारम्भ
एलएन गच्छदार / सुन्दरहरैंचा, मोरंग। माघ २८ गते
सुन्दरहरैंचा नगरपालिकामा डिजिटल प्रशासनतर्फ थप एक कदम अगाडि बढ्दै अनलाइन नागरिकता सिफारिस प्रणाली (Citizen Certification Information Management System – CCIMS) को औपचारिक शुभारम्भ गरिएको छ। नगरपालिकाको उपप्रमुख अकली चौधरीले एक विशेष समारोहका बीच प्रणालीको उदघाटन गर्नुभयो।
CCIMS प्रणालीले नागरिकता सिफारिस प्रक्रियालाई डिजिटल बनाउन, छिटोछरितो सेवा प्रदान गर्न र पारदर्शिता सुनिश्चित गर्न सहयोग पुर्याउनेछ। यस प्रणालीको प्रयोगले कागजी झन्झट र समय खर्च हुने पुरानो पद्धतिलाई प्रतिस्थापन गर्दै सेवाग्राहीहरूलाई घरमै बसेर अनलाइन आवेदन दिन सक्ने सुविधा प्रदान गरेको छ।
उद्घाटन समारोहमा बोल्दै उपप्रमुख अकली चौधरीले अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने हुँदा यो सेवा प्रभावकारी हुने विश्वास लिइएको बताउनु भयो । वहाँले भन्नुभयो,-“डिजिटल प्रणालीले नगरवासीको जीवनलाई सहज र सरल बनाउने हाम्रो प्रयास हो। CCIMS प्रणालीको शुभारम्भले सुन्दरहरैंचालाई डिजिटल शहरको रूपमा विकास गर्न मद्दत पुर्याउनेछ।”
उहाँले डिजिटल प्रशासनलाई आगामी दिनमा अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहमा प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपाने ,जनप्रतिनिधिहरू, कर्मचारी, र स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। सबैले प्रणालीको उपयोगितालाई उच्च मूल्याङ्कन गर्दै यसले प्रशासनिक प्रक्रियामा नयाँ युगको थालनी गर्ने विश्वास व्यक्त गरेका छन ।
यस प्रणालीले स्थानीयवासीलाई सेवा लिँदा सहजता र समयको बचत हुने विश्वास छ। वडा -१२ का अध्यक्ष तथा नगर प्रवक्ता रोशन प्रसाद ढकालले भनुभयो – ,
“यो प्रणालीले हामी जस्ता सर्वसाधारणलाई कार्यालयमा धाउनुपर्ने झन्झटबाट छुटकारा दिलाउँछ। सजिलै नागरिकता सिफारिस प्रक्रिया पूरा गर्न सक्नेछ।” सुन्दरहरैंचा नगरपालिकाले यो कदमसँगै डिजिटल र पारदर्शी सेवाप्रवाहमा नयाँ आयाम थपेको छ। डिजिटल प्रशासनलाई अझ सशक्त बनाउन नगरपालिका निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाएको छ।
यो प्रणाली लागु भएसँगै अब नयाँ नागरिकता प्राप्तिका लागि निवेदन दिने सेवाग्राहीले नागरिकता लिन आवश्यक पर्ने सिफारिसका पत्रहरु बोकेर जिल्ला, इलाका प्रशासनमा बुझाउनुपर्ने झञ्झट हट्नेछ । सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरणहरु गृह अन्तर्गत नागरिकता फाँट विभागमा रजिष्टेशन कोडका आधारमा सहजै नागरिकता पाउन सकिन्छ।
