पाख्रीबास नगरपालिकाद्वारा एसईई र कक्षा १२ का उत्कृष्ट विद्यार्थी सम्मानित

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को बोर्ड परीक्षामा नगरभित्र सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रालाई सम्मान गरिएको हो ।

नगरपालिकाले कक्षा १० तर्फ नगर प्रथम हुने छात्र निशान तिम्सिना र छात्रा बिनु मश्राङ्गीलाई सम्मान गरेको छ । त्यसैगरी कक्षा १२ तर्फ छात्र प्रथम दावा छिरिङ तामाङ तथा छात्रा प्रथम शिक्षा देवानलाई नगद पुरस्कारसहित सम्मान गरिएको जनाएको छ ।

विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनको कदर गर्दै सम्मान गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय प्रशासनले शैक्षिक उपलब्धिमा शिक्षकहरूको निरन्तर मेहनत, विद्यार्थीहरूको अध्ययनप्रतिको जागरुकता तथा अभिभावकहरूको प्रेरणा र सहयोग महत्वपूर्ण रहेको उल्लेख गरेको छ । साथै, आगामी वर्षहरूमा गुणस्तरीय शिक्षामार्फत अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *