पाँचथरको च्याङथापूमा भीषण पहिरो : २६ घर उच्च जोखिममा, सडक र पूर्वाधारमा व्यापक क्षति

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापू क्षेत्रमा गएको बाढीपहिरोले बस्ती, सडक र पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ । बेमौसमी वर्षापछि गत जेठ ८ गते गएको पहिरोका कारण २६ घर उच्च जोखिममा परेका छन् भने करिब ७० घर पहिरोको जोखिममा रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार साविक च्याङथापू गाविसका ठिङ्गेपुर–कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङडाँडा, एकराते, खोलाघारी र सुन्दरपुर टोल पहिरोबाट प्रभावित भएका छन् । पहिरोले चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवास तथा कोप्चेका गङ्गाराम बेघाको घर बगाएको छ । अन्य घरहरू पनि जोखिमपूर्ण अवस्थामा रहेका छन् ।

‘कसैको घरमाथिबाट पहिरो गएको छ भने कसैको घरमुनिबाट जमिन भासिएको छ,’ वडाध्यक्ष खालिङले भने, ‘पानी पर्नासाथ स्थानीय त्रसित भएर सुरक्षित स्थानतर्फ भाग्नुपर्ने अवस्था छ ।’

बाढीपहिरोले पशुचौपाया बगाउनुका साथै खेतीयोग्य जमिन र अलैँची बगानमा समेत क्षति पुगेको छ । तीन वर्षअघि पनि सोही क्षेत्रमा भीषण वर्षापछि पहिरो गएको थियो । विसं २०८० असार ३ गते मेवाखोलामा आएको बाढीले चोक, खोलाघारी र एकरातेलगायत टोल प्रभावित भएका थिए । स्थानीयका अनुसार यसपटकको क्षति अघिल्लोभन्दा अझ ठूलो छ ।

जिल्ला समन्वय समितिका पूर्वसदस्य नरबहादुर गुरुङले प्रभावित क्षेत्रमा अझै त्रास कायम रहेको बताए । उनका अनुसार बादल लाग्नेबित्तिकै स्थानीय सुरक्षित स्थान खोज्दै हिँड्न बाध्य छन् ।

बाढीपहिरोले आठ वटा सिँचाइ योजना, तीन वटा खानेपानी आयोजना र तीन वटा झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । साथै, पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत च्याङथापू खण्ड, फाक्लुङ–फालोट मोटरबाटो, च्याङथापू–समरजुङ तथा च्याङथापू–लामपोखरी सडकमा समेत क्षति पुगेको छ । च्याङथापू–लामपोखरी सडक अवरुद्ध हुँदा सुकाढापस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट (बीओपी) मा सामग्री ढुवानी प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।

सडक अवरुद्ध भएपछि ५० भन्दा बढी विद्यार्थीको विद्यालय आवतजावत प्रभावित भएको छ भने गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणमा समेत समस्या भएको छ । राहत वितरणमा पनि कठिनाइ भइरहेको स्थानीय तहले जनाएको छ ।

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार वडा नं १, २ र ३ मा सबैभन्दा बढी क्षति पुगेको छ । हाल ओयामबाट सडक खुलाउने काम भइरहेको र फलामखोलासम्म सम्पर्क स्थापित गरिसकिएको उनले बताए । बाँकी सडक खुलाउने काम जारी रहेको गाउँपालिकाले जनाएको छ । तीन वर्षअघि बाढीपहिरोले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण नहुँदै पुनः ठूलो क्षति भएपछि स्थानीयले च्याङथापू क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *