सडेको अवस्थामा राजेश हजामको शव फेला
झापा : गत जेठ १५ गतेदेखि हराएका बाह्रदशी गाउँपालिका–५ फूलवारी का २२ वर्षीय राजेश हजामको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार हजामको शव बाह्रदशी गाउँपालिका – ७ स्थित विरिङ खोलामा उत्खनन् गर्दा सडेको अवस्थामा फेला परेको हो ।
साविक डाँगीवारी – ३ स्थित ‘लाफादी’ घाटको पश्चिम तर्फ खोला किनारमा अन्दाजी ५ फुट गहिरो खाडल खनेर हजामको शव पुरिएको अवस्थामा प्रहरीले उत्खनन् गर्दा भेटेको बाह्रदशी गाउँपालिका – ७ का वडाध्यक्ष मित्रप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार पानी बग्ने भाग भन्दा ५÷७ मिटर पर हजामको शव पुरिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
दुई दिन लगाएर गरिएको उत्खनन्को क्रममा हजामको शव फेला परेको हो । शुक्रवार विरिङ खोलाको दुई ठाउँमा उत्खनन् गरिएको थियो । तर, शव फेला परेको थिएन ।
यस अघि बाह्रदशी ६ स्थित एक घरमा उत्खनन् गरिएको थियो । हजामलाई हत्या गरेर घरको बरण्डामा गाडिएको आशंकामा उत्खनन् गर्दा हत्यामा प्रयोग गरिएको सामग्री प्रहरीले बरामद गरेको थियो । उत्खनन्का क्रममा नुनका बोरा, कपडा र हत्यामा प्रयोग गरिएको बाम्फोक बरामद भएको थियो ।
प्रहरीले यस अघि घटनामा संलग्न भएको आशंकामा बाह्रदशी–७ निवासी ३१ वर्षीय समिर राजवंशी, २१ वर्षीय आशिष थापा, २० वर्षीया मुना मेचे (राजवंशी) र १६ वर्षीय नरेश राजवंशी पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुको बयानका आधारमा प्रहरीले आइतवार पुनः विरिङ खोलामा दुई वटा जेसीवी लगाएर उत्खनन् गरेको थियो ।
पक्राउ पर्नेमध्ये २० वर्षीया मुना र १६ वर्षीय नरेश राजवंशी भाउजू देवर हुन् भने ३१ वर्षीय समिर राजवंशी जेठाजु हुन् ।
गत जेठ १५ गते बाह्रदशी–५ निवासी भीम हजामको छोरा हराएको भन्दै जेठ १७ गते प्रहरीमा खोजीकार्यका लागि भन्दै खोजपत्र परेको थियो ।प्रहरीले गरेको अनुसन्धानका क्रममा हजामको हत्या गरेर शुरुमा भान्सा घरमा शव गाडेको खुलेको छ । पछि सो शव खोला किनारमा सारिएको अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।
यता घटनामा संलग्न भएको भनिएका गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएको आशंका गरिएको छ । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् ।
Source :
