बकर इददेखि गणतन्त्र दिवससम्म लगातार चार दिन सार्वजनिक बिदा
काठमाडौं । बकर इद (इद–उल–अज्हा) र गणतन्त्र दिवसको अवसर पारेर आजदेखि देशभर लगातार चार दिन सार्वजनिक बिदा परेको छ । बिहीबारदेखि सुरु भएको बिदाको श्रृंखला आइतबारसम्म रहने भएकाले सरकारी कार्यालय, शैक्षिक संस्था तथा अधिकांश सार्वजनिक सेवा प्रभावित हुने भएका छन् ।
सरकारले मुस्लिम समुदायको महान् पर्व बकर इदको अवसरमा आज जेठ १४ गते सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले मुस्लिम आयोगको सिफारिसअनुसार बकर इद परेको जानकारी प्राप्त भएकाले देशभर बिदा दिने निर्णय गरिएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा मुस्लिम धर्मावलम्बीहरूलाई पर्वको शुभकामना व्यक्त गर्दै बकर इदले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ सुदृढ बनाओस् भन्ने कामना गरिएको छ ।
यस्तै, भोलि जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा पनि सार्वजनिक बिदा रहनेछ । त्यसपछि शनिबार र आइतबार नियमित साप्ताहिक बिदा परेकाले नागरिकले लगातार चार दिन बिदा पाउने भएका हुन् ।
लगातार बिदाका कारण पर्यटकीय क्षेत्र र आन्तरिक भ्रमणमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ । पारिवारिक भेटघाट र छोटो यात्रामा समेत वृद्धि हुने अनुमान गरिएको छ भने केही सरकारी तथा सार्वजनिक सेवा प्रवाहमा अस्थायी असर पर्न सक्ने देखिएको छ ।
