मुसहर बस्तीको नाम अब ‘जेसीज भिलेज’- पाँच परिवारको जीवनमा उज्यालोसहितको नयाँ सुरुवात

एलएन गच्छदार / सुन्दरहरैंचा

मोरङको सुन्दरहरैंचा–१, बानडाडास्थित मुसहर बस्ती बिहिबार विगतका कुनै पनि दिनभन्दा भिन्न देखिन्थ्यो। धुलो–माटोले ढाकिएको बस्ती यसदिन उत्सवको रंगमा रन्किएको थियो। वर्षौंदेखि पानी चुहिने छाप्रो, हिलोको आँगन र विपन्नतासँगै बाँच्न बाध्य परिवारहरूको अनुहारमा आफूले कहिल्यै नदेखेको उज्यालो देखिन्थ्यो। त्यो उज्यालोको स्रोत थियो—इन्द्रपुर जेसिजले “जेसीज भिलेज” परियोजनाअन्तर्गत एकैपटक हस्तान्तरण गरेका पाँच नयाँ घरहरू।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख केदार प्रसाद गुरागाईंले नयाँ घरहरूको चावी मुसहर महिलाहरूको हातमा बुझाउँदै गर्दा वातावरण नै भावनाले तातेको थियो। कसैको आँखामा खुसीका आँसु टल्किरहेका थिए, कसैको काँपेको हातमा परेका चावीहरूले आजसम्मको कठोर जीवनलाई ठक्कर दिँदै नयाँ शुरुवातको संकेत गरिरहेका थिए।
“घर भन्नु केवल चारवटा भित्तो होइन, सुरक्षित भविष्यको आधार हो,” गुरागाईंले भने, “आजदेखि यी परिवारहरूले आफ्नो जीवनलाई नयाँ ढंगले कल्पना गर्न सक्छन्।”

गुरागाईंले थपे—अब यहाँ केवल घर मात्र होइन, सिप विकास, रोजगारी र आर्थिक उन्नति का कार्यक्रम पनि विस्तार गर्नुपर्नेछ। उनले बस्तीमा लुमन्ती र नगरपालिकाको सहकार्यमा बनेका अन्य घरहरूको विवरण सार्वजनिक गर्दै अब यो बस्तीलाई मुसहर बस्ती वा बानडाडा होइन, ‘जेसीज भिलेज’ का रूपमा पहिचान दिने घोषणा गरे। एकरूप सिंगो रंगमा रंगिएका घरहरू, सिप अनि शिक्षामा आधारित कार्ययोजना—सबै मिलेर यस क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याइने उनको भनाइ थियो।

जेसीआई इन्द्रपुरका अध्यक्ष जेसी आकाश दुलालले यो अभियान संस्थाको दीर्घकालीन सामाजिक प्रतिबद्धताको नतिजा भएको बताए। “हाम्रो उद्देश्य केवल घर बनाइदिनु होइन,” उनले भने, “हामी समुदायमा सुरक्षित आवास, सम्मान र आत्मविश्वास रोप्न चाहन्छौँ। आज यो बस्तीमा परिवर्तन देखिन थालिसकेको छ।”

जेसिज संस्थापक अध्यक्ष कृष्णबाबु ढकालले मुसहर समुदायलाई प्रेरणा दिँदै भने- “सधैँ कसैको सहयोगको मात्रै प्रतीक्षा गरेर होइन, आफूले पनि उठेर केही गर्ने समय अब आएको छ। परिवर्तनको ढोका खोल्ने चावी उनीहरूकै हातमा छ।”

सो अवसरमा बोर्ड अफ ट्रस्टीजका अध्यक्ष अर्जुन बस्नेतले यो अभियानलाई मानवता र सामूहिकताको उत्कृष्ट उदाहरण भन्दै धन्यवाद व्यक्त गरे। परियोजनामार्फत बनेका घरहरूले मुसहर समुदायका लागि पहिलोपटक वर्षात, चिसो, हावा र असुरक्षाबाट मुक्त बस्ने आत्मविश्वास जगाइदिएको छ। वर्षौँदेखि ढलपलाएका झुपडीहरूमा जिउरक्षा गर्नुपर्ने बाध्यता हटेर आज ती ठाउँमा मजबुत, सुरक्षित र सम्मानजनक घर उभिएका छन्- जुन केवल संरचना होइन, आशा, परिवर्तन र आत्मविश्वासको प्रतीक बन्न पुगेका छन्।

यसअघि पनि एक घर हस्तान्तरण गरिसकेको इन्द्रपुर जेसिजले अहिले सम्म ६ घर पूरा गरिसकेको छ। अझै थप घर निर्माण जारी रहेको अध्यक्ष दुलालले बताए। कार्यक्रममा बस्ती निर्माणमा साथ दिने दाताहरूलाई सम्मान प्रदान गरिएको थियो। कसैले जग्गा बराबर गरिदिए, कसैले ढुंगा–बालुवा, कसैले ढलानका सामग्री, कसैले आफ्नो श्रम नै दान गरे— यही सामूहिकताले ‘जेसीज भिलेज’लाई केवल परियोजना होइन, मानवता र एकताको बस्ती बनाइदिएको छ।

सामाजिक उत्तरदायित्व, नेतृत्व विकास र युवा सशक्तिकरणमा क्रियाशील इन्द्रपुर जेसिजको यो पहलले मुसहर समुदायमा नयाँ जीवन, नयाँ आत्मविश्वास र नयाँ पहिचान रोपिदिएको छ। आज बानडाडामा पाँच परिवार मात्र होइन-सपना नयाँ बनेका छन्, भविष्य नयाँ बनेको छ, र बस्तीको नाम पनि नयाँ-‘जेसीज भिलेज’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *