फुटबलको महोत्सव गछियामा : घरेलु टिमको ऐतिहासिक जीतदेखि अन्तर्राष्ट्रिय आमन्त्रणको रोमाञ्चसम्म
एलएन गच्छदार / सुन्दरहरैंचा
मोरङको गछिया यतिबेला फुटबलको उत्साहले टलमलिएको छ। प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकप २०८२ सुरु भएयता यहाँको हावा, माटो र माहोल फुटबलमै रन्किएको छ। उद्घाटन दिनदेखि नै खेलले दर्शकको मन जित्दै आएको छ। पहिलो खेलमै सहलेश युथ क्लब सिराहाले बेलबारी एफसीलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्दा दर्शकको ताली मैदानभर गुन्जिएको थियो। सोही दिन घरेलु टोलि गछिया युवा समाजले भारतबाट आएका पाहुना क्लब लिजेन्ड फुटबल एकेडेमीलाई ७–० को विशाल अन्तरले हराउँदै प्रतियोगितामा आफ्नो दमदार उपस्थिति दर्ज गरायो।
प्रतियोगिता अघि बढ्दै जाँदा तेस्रो क्वार्टरफाइनल झनै रोमाञ्चक रह्यो। गाईघाट युनाइटेड र जलथल फुटबल क्लब झापाबीचको खेल निर्धारित समयमा १–१ को बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा धकेलियो। निर्णायक क्षणमा गाईघाटका गोलरक्षक रेम्बो चौधरीले अविश्वसनीय बचाउ गर्दै १ विरुद्ध ४ गोलको जित दिलाए र ‘म्यान अफ द म्याच’को उपाधि समेत हात पारे।
निर्णायक खेलहरूसहित प्रतियोगिता उत्कर्षतिर अघि बढिरहेकै बेला गोल्डकप संयोजक प्रलाहद थोप्रा भन्छन्, “गछिया गोल्डकप अब स्थानीय सीमाभन्दा धेरै पर पुगेको छ। दर्शक, खेलाडी र टिमहरूको ऊर्जा देख्दा यो प्रतियोगिता वर्षैपिच्छे नयाँ स्तरमा पुग्ने विश्वास बढेको छ। भोलिको खेल राष्ट्रिय जागृति इटहरी र दमक एकेडेमी झापाबीच हुँदैछ, जहाँबाट अन्तिम सेमिफाइनल टोलि तय हुनेछ। गछियाको पहिचान अब फुटबलले नै नयाँ उचाइमा पुर्याउँदैछ।”
सहलेश युथ क्लब सिराहा, गछिया युवा समाज र गाईघाट युनाइटेड सेमिफाइनल प्रवेश गरिसकेका टोली हुन्, र अब बाँकी रहेको थप एक स्थानको भाग्य भोलिको खेलमै टुंगिनेछ। दिनप्रतिदिन बढ्दो भीड, बढ्दो रोमाञ्च र बढ्दो अपेक्षाले गछियाको मैदानलाई उत्सवस्थलमा बदलिदिएको छ। खेलको घुम्तीमा कहिले हृदय धड्किने क्षण, कहिले उत्साहले उफ्रिने मौका— यी सबैले गछिया गोल्डकपलाई इतिहास लेखिने एक विशेष यात्रामा बदलिदिएको छ। प्रतियोगिता अझै बाँकी छ, कथा अझै बाँकी छ, र विजेताको नाम अझै मैदानमै लेखिन बाकी छ।
