ब्राइट फ्युचर स्कुल र नेपालिरिका होटलबीच होटल म्यानेजमेन्ट शिक्षामा सहकार्य सम्झौता

 

एलएन गच्छदार / असार १७ गते

सुन्दरहरैंचा- मोरङ सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुरमा रहेको ब्राइट फ्युचर सेकेण्डरी स्कुल र नेपालिरिका होटलबीच मंगलबार एक सहकार्यको सम्झौता (MOU) सम्पन्न भएको छ। सम्झौता समारोह नेपालिरिका होटलमा आयोजित गरिएको थियो।

सम्झौताअनुसार होटल म्यानेजमेन्ट विषय अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूले व्यवहारिक तालिम, प्रत्यक्ष अनुभव तथा रोजगारीको अवसर पाउने छन्। विशेषगरी, विद्यार्थीहरूले हरेक  महिना अनिवार्य रूपमा नेपालिरिका होटलमा इन्टर्नसिप गर्नेछन् भने हरेक १५ दिनमा विभागीय सिकाइ तथा तालिममा सहभागी हुने व्यवस्था गरिएको छ। साथै, प्रत्येक वर्ष १० जना योग्य विद्यार्थीलाई होटलमा रोजगारीको अवसर प्रदान गरिनेछ।

नेपालिरिका होटलका प्रबन्ध निर्देशक आकाश दुलालले उक्त अवसरमा सम्बोधन गर्दै भन्नुभयो, “हामीले शिक्षा र उद्योगबीचको दूरी घटाउन यो कदम चालेका हौं। अब हाम्रा विद्यार्थीहरूले कक्षा भित्र मात्र होइन, प्रत्यक्ष होटल क्षेत्रमा काम गरेर सिक्न पाउनेछन्।”

कार्यक्रममा नेपालिरिका होटलले विद्यार्थीहरूका लागि खुल्ने अवसरहरूको बारेमा जानकारी गराउनु भयो। ब्राइट फ्युचर स्कुलका संस्थापक प्रिन्सिपल टिकाराम ढकालले सम्झौताप्रति उत्साह व्यक्त गर्दै यसले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा शिक्षक, विद्यार्थी व्यवसायी तथा सञ्चारकर्मी, विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *