विद्यार्थीले पञ्चेबाजासँगै रोपे धान, माटोमा रमाउँदै हिमालय स्कुलले मनायो असार १५

एलएन गच्छदार / असार १५
असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा मोरङ सुन्दरहरैंचा नगरपालिका वडा १० स्थित हिमालय इंगलिस स्कुलले विशेष सांस्कृतिक कार्यक्रमका साथ धान दिवस मनाएको छ। विद्यालयका  विद्यार्थीहरूले छमछमी नाच्दै पञ्चेबाजाको तालमा धान रोपेका थिए।

उक्त कार्यक्रमले विद्यार्थीहरूमा कृषि संस्कृतिप्रति चेतना बढाउनुका साथै नेपाली मौलिक परम्परालाई अनुभूत गराउने उद्देश्य राखिएको थियो। खेतमा खुट्टा भिजाउँदै धान रोप्ने र आपसी सहयोगको भावना देखाउने बालबालिकाको उत्साहले सम्पूर्ण वातावरण उत्सवमय बनाएको थियो।

कार्यक्रमका अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनालले भन्नुभयो, “आजको पुस्ताले किताबमा मात्र नभई व्यवहारमै कृषि संस्कृतिको अनुभव गर्नुपर्छ। हामीले आफ्ना विद्यार्थीलाई माटो, खेती र परिश्रमको महत्व बुझाउन यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौं।”

कार्यक्रममा शिक्षक तथा समुदायका प्रतिनिधिहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। असार १५ मा आयोजना गरिएको यो कार्यक्रमले विद्यार्थीलगायत सम्पूर्ण सहभागीहरूलाई कृषि संस्कृति र मौलिक परम्पराको स्मरण गराएको विद्यालयका अध्यक्ष सुजना खनालले जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *