विराटनगर विमानस्थलका चार होटल–क्याफेमाथि १२ लाख जरिबाना, उपभोक्तासँग चर्को मूल्य असुलेको पुष्टि

विराटनगर । विराटनगर विमानस्थलभित्र सञ्चालित होटल तथा क्याफेहरूले उपभोक्तासँग वस्तुमा अंकित मूल्यभन्दा अत्यधिक बढी रकम असुलेको भेटिएपछि प्रशासनले चारवटै व्यवसायलाई कुल १२ लाख रुपैयाँ जरिबाना गरेको छ। यात्रु तथा सर्वसाधारणबाट लामो समयदेखि मनपरी मूल्य लिएको गुनासो आएपछि गरिएको आकस्मिक अनुगमनमा उपभोक्ता ठगी भएको पुष्टि भएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय तथा सुरक्षा निकायको संयुक्त टोलीले मंगलबार साँझ विराटनगर विमानस्थल परिसरमा छड्के अनुगमन गरेको थियो। अनुगमनका क्रममा चारवटा होटल तथा क्याफेले वस्तुमा उल्लेख गरिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा धेरै रकम असुलेको फेला परेको हो।

अनुगमन टोलीले विमानस्थलको बोर्डिङ कक्षमा रहेको ममता होटेलले १०० रुपैयाँ मूल्य अंकित डेरी मिल्क चकलेट २०० रुपैयाँमा बिक्री गरेको पायो। यस्तै, ग्यालेक्सी क्याफे एन्ड होटेल प्रालिले ५० रुपैयाँ मूल्यको कोकाकोलाको बोतल १६० रुपैयाँमा बिक्री गरी बिल काटेको भेटियो। गरिमा क्याफेले ५० रुपैयाँ पर्ने कोकाकोलालाई ८० रुपैयाँमा बिक्री गरेको तथा अनुकुल होटेल एन्ड भान्सा घरले ८ रुपैयाँ मूल्य अंकित चकलेटलाई १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको तथ्य अनुगमनमा खुलेको थियो।

उपभोक्ताबाट चर्को मूल्य असुली गरिएको पुष्टि भएपछि चारवटै व्यवसायमाथि उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था अनुसार कारबाही गरिएको हो। ऐनअनुसार प्रत्येक व्यवसायलाई तीन लाख रुपैयाँका दरले जरिबाना गरिएकाले कुल १२ लाख रुपैयाँ राजस्व संकलन गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले जानकारी दिए।

उनका अनुसार विमानस्थलजस्तो सार्वजनिक सेवा प्रदान गर्ने स्थानमा यात्रुको बाध्यता र विकल्पको अभावको फाइदा उठाएर अस्वाभाविक मूल्य लिने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न अनुगमनलाई कडाइ गरिएको हो।

अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख हितेश बस्नेत, जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत सन्तोष घिमिरे, वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर बेनुकुमार कार्की तथा उपभोक्ता हित संरक्षण मञ्च नेपाल कोशी प्रदेशका प्रतिनिधिलगायत सहभागी थिए।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विमानस्थल मात्र नभई उपभोक्तालाई ठगी गर्ने, अंकित मूल्यभन्दा बढी रकम असुल गर्ने तथा कानुनविपरीत व्यापार गर्ने जोसुकै व्यवसायीमाथि निरन्तर निगरानी र कडा कारबाही जारी रहने बताए। उनले उपभोक्तालाई सामान खरिद गर्दा अंकित मूल्य, बिल र वस्तुको गुणस्तरमा सचेत रहन आग्रह गर्दै कुनै अनियमितता देखिए सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरे।

विराटनगर विमानस्थलमा भएको यो कारबाहीले सार्वजनिक स्थलमा हुने मूल्य ठगी नियन्त्रण तथा उपभोक्ता अधिकार संरक्षणका लागि सरकारी निकाय सक्रिय रहेको सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *