छाउपडी प्रथाविरुद्ध सशक्त सन्देश बोकेको ‘हली’ : विराटचोकमा भव्य प्रमोशनल कार्यक्रम सम्पन्न
– एलएन गच्छदार
मोरङ, साउन ११। आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘हली’ को भव्य प्रमोशनल कार्यक्रम मोरङको सुन्दरहरैँचा नगरपालिका–९, विराटचोकस्थित इन्द्रपुर जेसीज भवन (काली मन्दिर परिसर) मा सम्पन्न भएको छ।
कार्यक्रममा सुन्दरहरैँचा–९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ र चलचित्रका निर्माता तथा वरिष्ठ राष्ट्रिय कलाकार सरोज खनालले संयुक्त रूपमा उद्घाटन गरेका थिए। कार्यक्रममा चलचित्रका कलाकार, निर्माण टोली, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा चलचित्रप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले चलचित्रका कलाकारसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने अवसर पाएका थिए। चलचित्रको कथावस्तु, निर्माण प्रक्रिया र समाजमा दिन खोजिएको सन्देशबारे निर्माण टोलीले जानकारी गराउँदै नेपाली चलचित्रलाई माया गर्न र आफ्नै कथालाई आफ्नै पर्दामा हेरेर साथ दिन आग्रह गरेको थियो।
छाउपडी प्रथाजस्तो संवेदनशील सामाजिक विकृतिलाई मुख्य विषयवस्तु बनाइएको चलचित्र ‘हली’ ले बालिका तथा महिलाले भोग्नुपरेका पीडा, विभेद र दुर्व्यवहारलाई यथार्थपरक रूपमा प्रस्तुत गरेको छ। कार्यक्रममा उपस्थित अधिकांश दर्शकले चलचित्रको विषयवस्तु सान्दर्भिक र प्रभावशाली रहेको प्रतिक्रिया दिएका थिए। चलचित्रले मनोरञ्जनसँगै समाजलाई सोच्न बाध्य बनाउने सशक्त सन्देश दिएको भन्दै निर्माण पक्षलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
दर्शकको सकारात्मक प्रतिक्रिया र मायाले निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठ उत्साहित देखिएका थिए। यसअघि सार्वजनिक गरिएको चलचित्रको ट्रेलर, प्रमोशनल गीत र पोस्टरले समेत दर्शकमाझ राम्रो चर्चा बटुलिसकेको छ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन्। चलचित्रमा सरोज खनाल, प्रमोद दीप, सुजता थापा, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ।
चलचित्रको विशेष आकर्षणका रूपमा रहेको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष प्रस्तुति समावेश गरिएको छ। राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ।
कार्यक्रमले नेपाली चलचित्रप्रतिको स्थानीय दर्शकको उत्साह झनै बढाएको देखिन्थ्यो। कला मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक परिवर्तनको प्रभावकारी साधन पनि हो भन्ने सन्देश ‘हली’ले बोकेको स्पष्ट देखिन्छ। छाउपडीजस्तो अमानवीय प्रथाविरुद्ध चेतना फैलाउने उद्देश्यसहित निर्माण गरिएको यस चलचित्रले समाजमा सकारात्मक बहस सिर्जना गर्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।
सामाजिक परिवर्तनका लागि एउटा ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश बोकेको यो चलचित्र आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।
