सुन्दरहरैंचामा पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली तथा विरोध कार्यक्रम सम्पन्न

एलएन गच्छदार
सुन्दरहरैंचा, विराटचोक – पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै नागरिक समाजले सुन्दरहरैंचा, विराटचोकमा विरोध कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नागरिक अगुवा, पत्रकार, स्थानीय बासिन्दाहरूको  उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले पत्रकार सुरेश रजकको योगदानको स्मरण गर्दै पत्रकारिता क्षेत्रका लागि उनको निधन अपूरणीय क्षति भएको बताए। उनीहरूले प्रेस स्वतन्त्रतामाथि बढ्दो दबाब, हिंसा तथा असुरक्षाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराए।

पत्रकार सुरक्षाका लागि सरकारलाई जिम्मेवार बनाउन माग

कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक अभियन्ता नेत्र चौलागाईंले सरकारलाई प्रेस स्वतन्त्रताको रक्षा गर्न स्पष्ट नीति ल्याउन आग्रह गरे। उनले भने, “पत्रकार सुरेश रजकको निधनले हाम्रो समाजमा स्वतन्त्र पत्रकारिताको चुनौती झन् गहिरिएको छ। नागरिक समाजले निरन्तर आवाज उठाउँदै सरकारलाई जिम्मेवार बनाउनुपर्छ।”

त्यसैगरी, स्वतन्त्र नागरिक समाजका संयोजक चिरञ्जीवी शिवाकोटीले पत्रकार सुरक्षाका लागि ठोस नीति निर्माणको आवश्यकता औंल्याउँदै भने, “पत्रकारहरूको अधिकार रक्षा गर्न सरकार र सरोकारवाला निकायहरू गम्भीर हुनुपर्छ। निष्पक्ष छानबिन र सुरक्षाका सुनिश्चितताबिना लोकतन्त्र बलियो बन्न सक्दैन।”

पत्रकारिताको स्वतन्त्रता जोगाउन एकजुट हुनुपर्नेमा जोड

कार्यक्रममा सहभागी अन्य वक्ताहरू उमाकान्त चौलागाईं, बिनिता दाहाल , अविरल घिमिरे लगायतले  पत्रकार सुरेश रजकको असामयिक निधनबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। उनीहरूले प्रेस स्वतन्त्रताको रक्षा गर्न सम्पूर्ण नागरिक समाज, पत्रकार तथा सरोकारवाला निकायहरू एकजुट हुनुपर्नेमा जोड दिए।

नागरिक समाजले पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारिताको सुरक्षा तथा स्वतन्त्रताका लागि थप सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *