किशोरीले पुर्याइन् नोबेल, सुनीलले लिए निःशुल्क उपचारको जिम्मा
झापाको जयपुरकी ४३ वर्षीया बालकुमारीको जीवन बचाउने आशा बोकेर एउटा एम्बुलेन्स विराटनगरतर्फ हुँकियो । एम्बुलेन्समा थिइन् बालकुमारी अनि कुसुम ओलीमार्फत खबर पाएपछि उनलाई लिएर नोबेल अस्पताल पुगेकी थिइन् जेन्जी आन्दोलनबाट चर्चामा आएकी किशोरी कार्की ।
आर्थिक अवस्था कमजोर भएकी बालकुमारी मिर्गौलाको समस्याले पीडित थिइन् । उपचार खर्च जुटाउन नसक्ने अवस्थामा रहेकी उनलाई अस्पतालसम्म ल्याउनु नै उपचारको पहिलो ढोका खोल्नु थियो । तर अस्पताल पुगेर मात्रै उनको समस्या सकिने अवस्था थिएन । उपचारका लागि ठूलो खर्च आवश्यक थियो । मिर्गौला प्रत्यारोपण झन् महँगो र जटिल प्रक्रिया हो । त्यही समस्याले बालकुमारीको परिवारलाई चिन्तित बनाएको थियो ।
त्यही बेला उनको जीवनमा आशाको अर्को ढोका पनि खुल्यो । नेपाली कांग्रेसका नेता तथा समाजसेवी सुनील शर्माले बालकुमारीको निःशुल्क उपचार गरिदिने भए । आवश्यक प्रक्रिया पूरा गरेर निःशुल्क मिर्गौला प्रत्यारोपणसमेत गरिदिने शर्माको प्रतिबद्धताले बालकुमारीको जीवनमा नयाँ आशा पलाएको छ ।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थामा पुगेकी बालकुमारीका लागि शर्माको सहयोग ठूलो राहत बनेको छ । मिर्गौलाको उपचार लामो र खर्चिलो हुन्छ । नियमित परीक्षणदेखि औषधि र प्रत्यारोपणसम्मका प्रक्रिया आर्थिक रूपमा कमजोर परिवारका लागि कठिन हुन्छन् । बालकुमारीको अवस्था पनि त्यस्तै छ । उपचार चाहिएको छ । तर पैसा थिएन । यही अभावका बीच शर्माको सहयोग अगाडि आएको हो ।
आर्थिक अवस्था कमजोर भएकै कारण कसैले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने मानवीय भावनाले गरिएको सहयोगले एउटा नयाँ जीवन पाएको छ । एउटी महिलाको जीवनमा अहिले दुईवटा हात जोडिएका छन्—एउटा अस्पतालसम्म पु¥याउने हात, अर्को उपचारको जिम्मा लिने हात । बालकुमारीका लागि यी हात फेरि बाँच्ने आशा हुन् । नोबेल अस्पतालमा उपचारको प्रक्रिया अघि बढ्दै गर्दा बालकुमारीको आँखामा निःशुल्क उपचारपछि स्वस्थ भएर घर फर्किने आशा झल्किरहेको छ ।





