कोशीमा रास्वपाको पहिलो प्रदेश नेतृत्व आज चयन हुँदै, सभापतिमा पाँच जनाको दाबी
मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेशको पहिलो निर्वाचित नेतृत्व चयनका लागि आज मोरङको विराटचोकस्थित जेसिज भवनमा प्रथम ऐतिहासिक प्रदेश अधिवेशन हुँदैछ। अधिवेशनबाट आगामी पाँच वर्षका लागि ६१ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिने भएकाले नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले पार्टीभित्र तीव्र चासो र राजनीतिक सरगर्मी बढाएको छ।
अधिवेशनअन्तर्गत बिहान ९ः३० बजेदेखि उम्मेदवारी दर्ता कार्यक्रम सुरु हुने कार्यतालिका रहेको छ। प्रदेशभरका जिल्ला, क्षेत्र र स्थानीय तहबाट छनोट भएका प्रतिनिधिहरू निर्वाचन प्रक्रियामा सहभागी हुनेछन्। मौसम अनुकूल रहे निर्धारित समयमै मतदान र निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी आयोजकले गरेको छ।
रास्वपाका केन्द्रीय सदस्य तथा सहकारी विभाग प्रमुख अशोक चौधरीका अनुसार यो कोशी प्रदेशको पहिलो प्रदेशस्तरीय ऐतिहासिक अधिवेशन हो, जसले प्रदेश संगठनलाई औपचारिक र निर्वाचित नेतृत्व प्रदान गर्नेछ।
अधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्रीसहित ६१ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिनेछ। कार्यसमितिमा १४ जिल्ला सभापति पदेन सदस्य रहने व्यवस्था छ भने २८ निर्वाचन क्षेत्रबाट २८ जना प्रतिनिधि निर्वाचित हुनेछन्। त्यस्तै १५ जना समावेशी समूहबाट चयन गरिने र तीन जना मनोनयन गर्न सकिने प्रावधान रहेको छ।
मतदान प्रक्रियामा जिल्ला सचिवालय समितिका सदस्य, क्षेत्रीय समितिका संयोजक तथा दुई–दुई जना उपसंयोजक, नगर तहबाट एक–एक प्रतिनिधि, प्रदेश कार्यसमितिका सदस्य, प्रदेशका केन्द्रीय सदस्य, विभागीय सदस्य तथा अन्य तोकिएका प्रतिनिधिहरूले मतदान गर्नेछन्।
प्रदेश सभापति पदका लागि संघीय सांसद पाराशमणि गेलाल, वर्तमान कार्यवाहक प्रदेश सभापति गोमा तामाङ (सरिन), केन्द्रीय सहकारी विभागका उपप्रमुख नीरज गौली, रास्वपा ताप्लेजुङका जिल्ला सभापति वीरेन्द्रकुमार श्रेष्ठ तथा प्रदेश कोषाध्यक्ष चन्द्र राई आकांक्षीका रूपमा चर्चामा छन्।
दाबेदारमध्ये पाराशमणि गेलाल उदयपुर क्षेत्र नम्बर–१ बाट निर्वाचित संघीय सांसद हुन्। गोमा तामाङ हाल प्रदेश समितिको कार्यवाहक सभापतिको जिम्मेवारीमा छिन्। नीरज गौली पार्टीको केन्द्रीय सहकारी विभागमा उपप्रमुखका रूपमा सक्रिय छन् भने वीरेन्द्रकुमार श्रेष्ठ ताप्लेजुङ जिल्ला संगठनको नेतृत्व गर्दै आएका छन्। चन्द्र राई प्रदेश कोषाध्यक्षको भूमिकामा छन्।
अधिवेशन उद्घाटनका लागि पार्टी सभापति रवि लामिछाने आउने प्रारम्भिक तयारी भए पनि अन्तिम कार्यतालिका सार्वजनिक भइसकेको छैन। उनी उपस्थित हुन नसके पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी ले अधिवेशन उद्घाटन गर्ने सम्भावना रहेको आयोजकले जनाएको छ।
यसअघि कोशी प्रदेश समितिमा नेतृत्व विवाद तथा कारबाहीका घटनापछि कार्यवाहक व्यवस्थामार्फत संगठन सञ्चालन हुँदै आएको थियो। त्यसैले यस अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले प्रदेश संगठनलाई एकताबद्ध गर्दै आगामी राजनीतिक रणनीति, संगठन विस्तार तथा पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
रास्वपाले यसअघि कोशी प्रदेशका सबै जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ। जिल्ला अधिवेशनबाट छनोट भएका प्रतिनिधिहरूको सहभागितामा हुने यो प्रदेश अधिवेशनलाई पार्टीभित्र नेतृत्व परीक्षण, शक्ति सन्तुलन र संगठन सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। कोशी प्रदेशमा रास्वपाको पहिलो निर्वाचित नेतृत्व कसको हातमा पुग्छ भन्ने विषय अहिले पार्टीका नेता–कार्यकर्ता तथा राजनीतिक वृत्तमा मुख्य चासोको विषय बनेको छ।
