कांग्रेस नेतृत्व सहमतिमा नभए पद्धतिबाट चयन गर्नुपर्छ: नेता गच्छदार

कांग्रेस नेतृत्व सहमतिमा नभए पद्धतिबाट चयन गर्नुपर्छ: नेता गच्छदार

वीरेन्द्रकुमार साह, विराटनगर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टीको नेतृत्व सहमतिमा नभए पद्धतिबाट चयन गर्नुपर्ने बताउनुभएको छ।

नेपाली कांग्रेस मोरङद्वारा आयोजित ‘नेपाली कांग्रेस राष्ट्रिय एकता तथा मेलमिलाप दिवस एवं १०० दिने विशेष अभियान’ समापन समारोहमा सम्बोधन गर्दै उहाँले पार्टीलाई बलियो बनाउन गुटउपगुटमा विभाजन हुनु नहुनेमा जोड दिनुभयो।

नेता गच्छदारले लोकतन्त्र सुदृढीकरण र संस्थागत विकासका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो। उहाँले भने, “नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यले मुलुकमा स्थायित्व र समृद्धि ल्याउन सकिन्छ।”

नेता गच्छदारले विपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको बताउँदै यस नीतिले कांग्रेस र एमालेको सहकार्यद्वारा महत्वपूर्ण आन्दोलन सफल भएको स्मरण गराउनुभयो।

नेपाली कांग्रेस सभापति लिम्बुको चेतावनी: ‘बजेटमा समानुपातिकता नआए कांग्रेस सरकारमा बस्दैन’

कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले हालको बजेट असमान रूपमा बाँडिएको भन्दै तत्काल संशोधनको माग गर्नुभएको छ। लिम्बुले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकारले तयार पारेको बजेट अस्वभाविक ढंगले यी दलका नेताहरूको क्षेत्रमै केन्द्रित गरिएको आरोप लगाउनुभयो।

“हाम्रो पार्टीको जित भएको क्षेत्र बजेटबाट वञ्चित हुनु अन्याय हो,” उहाँले भन्नुभयो। “अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ। यदि कांग्रेसलाई समेटेर समानुपातिक बजेट वितरण गरिएन भने कांग्रेसले सरकारमा बसिरहनुको कुनै तुक छैन।”

लिम्बुले सरकारभित्र कांग्रेसलाई योजनाबद्ध रूपमा हेप्न खोजिएको दाबी गर्दै चेतावनी दिनुभयो, “हरेक राजनीतिक नियुक्तिमा एमालेकरण भईरहेको छ। कांग्रेसलाई पाखा लगाएर सरकार चलाउने नियत ठीक होइन। यो व्यवहारले मुलुकको सबैभन्दा ठूलो दललाई कमजोर बनाउने खतरा छ। हामी यस्ता असमान अभ्यास सहेर सरकारमा बस्नेछैनौं।”

लिम्बुले आफ्नो मागमा ध्यान नदिए सरकारबाट नेपाली कांग्रेस बाहिरिने स्पष्ट सन्देश दिएका छन्। अब कांग्रेसको समानुपातिक अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने लिम्बुको धारणा छ।

आजको समापन समारोहमा कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौला, अमृत अर्याल भीम पराजुली, हसन अनसारी, नेता बसन्त भट्टराई, नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता लगायतले वडामा खटेका प्रतिनिधिहरुले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *