विश्वकप २०२६ : अन्तिम १६ को समीकरण पूरा, स्पेन–पोर्चुगल सुपर भिडन्तमा सबैको नजर
विश्वकप फुटबल २०२६ को अन्तिम ३२ चरण शनिबार बिहान कोलम्बिया र घानाबीचको खेलसँगै सम्पन्न भएको छ। १६ टोली थपेर ४८ राष्ट्रमा विस्तार गरिएको यस संस्करणमा पहिलो पटक अन्तिम ३२ चरण समावेश गरिएको हो। अब उपाधि दौडमा रहेका उत्कृष्ट १६ टोलीबीच प्रिक्वाटरफाइनलका रोमाञ्चक प्रतिस्पर्धा हुनेछन्।
अन्तिम ३२ चरणमा केही अप्रत्याशित नतिजाले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ। चार पटकको विश्वविजेता जर्मनी पाराग्वेसँग तथा उपाधिको बलियो दाबेदार मानिएको नेदरल्यान्ड्स मोरक्कोसँग टाइब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन्। त्यस्तै, मोहम्मद सलाहको नेतृत्वमा रहेको इजिप्टले पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
उपाधिका प्रमुख दाबेदार स्पेन र फ्रान्सले भने आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै सहज जितसहित प्रिक्वाटरफाइनल यात्रा तय गरेका छन्। इङ्ग्ल्यान्ड, ब्राजिल, अर्जेन्टिना र पोर्चुगलले भने अपेक्षाभन्दा कडा चुनौती सामना गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।
यसपटकका तीनै सहआयोजक राष्ट्रले अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन्। प्रिक्वाटरफाइनलको पहिलो खेलमा सहआयोजक क्यानडाले पछिल्लो संस्करणको सेमिफाइनलिस्ट मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेताले क्वाटरफाइनल प्रवेशका लागि फ्रान्स र पाराग्वेमध्ये विजेता टोलीसँग खेल्नेछ।
ब्राजिल र इङ्ग्ल्यान्डले पनि प्रिक्वाटरफाइनलमा बलिया प्रतिद्वन्द्वी पाएका छन्। ब्राजिलले इर्लिङ हालान्डको नर्वेसँग प्रतिस्पर्धा गर्दा इङ्ग्ल्यान्डले उत्कृष्ट लयमा रहेको सहआयोजक मेक्सिकोको चुनौती सामना गर्नेछ। यी दुई खेलका विजेताबीच क्वाटरफाइनलमा प्रतिस्पर्धा हुनेछ।
अन्तिम १६ को सबैभन्दा आकर्षक खेल स्पेन र पोर्चुगलबीच हुनेछ। समूह चरणको पहिलो खेलमा केप भेर्डेसँग गोलरहित बराबरीमा रोकिए पनि त्यसपछि लगातार प्रभावशाली प्रदर्शन गरेको युरो च्याम्पियन स्पेन उपाधि दाबेदारीलाई थप मजबुत बनाउने लक्ष्यमा हुनेछ। यता, समूह चरणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको पोर्चुगलले अन्तिम ३२ मा क्रोएसियामाथि नाटकीय जित निकाल्दै आत्मविश्वास बढाएको छ।
अर्को रोमाञ्चक भिडन्तमा सहआयोजक अमेरिका र बेल्जियम आमनेसामने हुनेछन्। प्रिक्वाटरफाइनलको अन्तिम दिन साविक विजेता अर्जेन्टिनाले इजिप्टसँग तथा स्विट्जरल्यान्डले कोलम्बियासँग प्रतिस्पर्धा गर्ने तालिका छ।
अप्रत्याशित नतिजा, ठूला टोलीको बहिर्गमन र उपाधि दाबेदारबीच हुने कडा भिडन्तका कारण विश्वकप २०२६ को अन्तिम १६ चरणलाई प्रतियोगिताको सबैभन्दा रोमाञ्चक चरणका रूपमा हेरिएको छ।





