२० बालबालिकाको भविष्य उज्यालो बनाउन लुम्बिनी विकास बैंकको साथ

२० बालबालिकाको भविष्य उज्यालो बनाउन लुम्बिनी विकास बैंकको साथ, हरैंचाको नाराधनता बालविकासमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

एलएन गच्छदार
सुन्दरहरैँचा (मोरङ), असार १८ —

सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै सुन्दरहरैँचा नगरपालिका–१, हरैंचा बजारस्थित लुम्बिनी विकास बैंक लिमिटेड शाखाले श्री जनता माध्यमिक विद्यालय अन्तर्गत सञ्चालनमा रहेको नाराधनता बाल विकास केन्द्रका बालबालिकालाई शैक्षिक सामग्री, खेलकुद सामग्री, पानी फिल्टर, पंखालगायत आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

हाल २० जना बालबालिका अध्ययनरत रहेको उक्त बाल विकास केन्द्र आधारभूत शिक्षाको महत्वपूर्ण थलो भए पनि पर्याप्त स्रोत–साधनको अभाव झेल्दै आएको छ। धेरै अभिभावकले बाल विकास तह पूरा भएपछि आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयतर्फ लैजाने प्रवृत्तिका कारण सामुदायिक बाल विकास केन्द्रमा विद्यार्थी संख्या पनि क्रमशः घट्दै गएको स्थानीयको भनाइ छ।

कार्यक्रममा बैंकका शाखा प्रमुख फडिन्द्र नेपालले बैंक केवल वित्तीय कारोबारमा मात्र सीमित नभई समाजप्रति उत्तरदायी संस्था भएको उल्लेख गर्दै बालबालिकाको शिक्षामा गरिएको सानो सहयोगले भविष्यमा ठूलो परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सहयोगलाई निरन्तरता दिइने बताए।

वडा सदस्य धारणा खनालले निजी क्षेत्र र वित्तीय संस्थाले स्थानीय तहसँग सहकार्य गर्दै शिक्षाजस्ता संवेदनशील क्षेत्रमा हातेमालो गर्नु प्रशंसनीय कार्य भएको बताइन्। यस्ता सामाजिक अभियानले बालबालिकाको सिकाइ वातावरण अझ प्रभावकारी बन्ने उनको धारणा थियो।

जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद न्यौपानेले आफ्नै वडाभित्र रहेको यस शैक्षिक संस्थाले अपेक्षाअनुसार लगानी र सहयोग पाउन नसकेको भन्दै दुःख व्यक्त गरे। उनले लुम्बिनी विकास बैंकले देखाएको सामाजिक उत्तरदायित्वको भावना अन्य संस्था र सरोकारवालाका लागि पनि प्रेरणादायी भएको उल्लेख गर्दै बैंकप्रति हार्दिक धन्यवाद व्यक्त गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, स्थानीय बासिन्दा तथा बैंकका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता सहयोगले सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउने विश्वास व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *