सुरक्षित विद्यालय निर्माणमा सुन्दरहरैंचाको पहल : ‘छात्रासँग उप–प्रमुख’ कार्यक्रम सम्पन्न
एलएन गच्छदार
सुन्दरहरैंचा (मोरङ), असार १७ — सुन्दरहरैंचा नगरपालिकामा विद्यार्थीलाई स्थानीय सरकारसँग प्रत्यक्ष जोड्दै नेतृत्व विकास, नागरिक चेतना र उत्तरदायित्वबोध अभिवृद्धि गर्नुका साथै विद्यालयभित्र छात्राहरूले भोग्न सक्ने हिंसा, दुर्व्यवहार तथा ह्यारासमेन्टविरुद्ध सचेतना फैलाउने उद्देश्यले सुन्दरहरैंचा नगरपालिकाले सञ्चालन गरेको ‘छात्रासँग उप–प्रमुख’ कार्यक्रम सिद्धार्थ माध्यमिक विद्यालयमा प्रभावकारी रूपमा सम्पन्न भएको छ।
कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूको उल्लेखनीय सहभागितामा आयोजित कार्यक्रममा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले विद्यार्थीसँग खुला संवाद गर्दै गुणस्तरीय शिक्षा, अनुशासन, नेतृत्व विकास, स्थानीय सरकारको दायित्व तथा जिम्मेवार नागरिकको भूमिकाबारे प्रेरणादायी धारणा व्यक्त गर्नुभयो।
उहाँले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहुने उल्लेख गर्दै नैतिक मूल्य, सामाजिक उत्तरदायित्व, लैङ्गिक समानता र नेतृत्व विकासलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। साथै विद्यालयभित्र कुनै पनि विद्यार्थी, विशेषगरी छात्राले हिंसा, दुर्व्यवहार, मानसिक दबाब, विभेद वा यौनजन्य ह्यारासमेन्टजस्ता समस्या भोग्नुपरे त्यसलाई लुकाएर नराखी सम्बन्धित शिक्षक, अभिभावक वा स्थानीय सरकारलाई जानकारी गराउन आग्रह गर्नुभयो।
अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले शिक्षा, स्थानीय सरकारका सेवा, विकास निर्माण, युवाको सहभागिता, विद्यालयको सिकाइ वातावरण तथा आफ्ना जिज्ञासा र सुझाव खुला रूपमा राखेका थिए। उपप्रमुख चौधरीले विद्यार्थीका प्रश्नको सहज र स्पष्ट जवाफ दिँदै उनीहरूका रचनात्मक सुझावलाई नगरपालिकाले सकारात्मक रूपमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको विशेष पक्षका रूपमा विद्यालयहरुमा ‘सुझाव पेटिका’ स्थापना गरिएको छ। उक्त पेटिकामार्फत विद्यार्थीहरूले आफ्नो परिचय खुलाउन नचाहे पनि विद्यालयमा हुने हिंसा, ह्यारासमेन्ट, दुर्व्यवहार, विभेद वा आफूले प्रत्यक्ष रूपमा भन्न नसकेका गुनासा तथा सुझाव गोप्य रूपमा राख्न सक्ने व्यवस्था गरिएको छ। नगरपालिकाका अनुसार प्राप्त सुझाव तथा गुनासालाई आवश्यक गोपनीयता कायम गर्दै अध्ययन गरी समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेछ।
विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, संवाद क्षमता, नेतृत्व विकास तथा लोकतान्त्रिक संस्कृतिप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विद्यालयलाई हिंसामुक्त, सुरक्षित र विद्यार्थीमैत्री बनाउने अभियानमा स्थानीय सरकारसँगको सहकार्यलाई निरन्तरता दिने उहाँको भनाइ थियो।
विद्यार्थी, शिक्षक, नगरपालिकाका प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रमले स्थानीय सरकार र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै विद्यार्थीलाई जिम्मेवार, सचेत र सक्षम नागरिकका रूपमा विकास गर्न तथा विद्यालयभित्र सुरक्षित, सम्मानजनक र समावेशी वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
See less





