पूर्वमै बसेर राष्ट्रियस्तरका फिल्म छायांकन गर्दै सन्देश मोते : ‘बहोरिया (बुहारी)’ १०औं दिनमा छायाङ्कन जारी

एलएन गच्छदार / सुन्दरहरैंचा / मंसिर ३ गते 

नेपाली चलचित्र उद्योगमा दुई दशकदेखि सक्रिय सन्देश मोते पछिल्ला दिनमा पुनः चर्चामा छन्। राजधानीभन्दा टाढा—पूर्वमै रहेर पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका फिल्महरूमा निरन्तर छायांकन गर्दै आएका मोतेको योगदान नेपाली फिल्म उद्योगमा उल्लेख्य मानिन्छ।

हालै उनी सिनेमाटोग्राफीको नेतृत्व सम्हालिरहेको थारु कथानकमा आधारित नेपाली चलचित्र ‘बहोरिया (बुहारी)’ १०औं दिनमा छायाङ्कन गर्दै सुनसरी, मोरङ, उदयपुरका थारु गाउँ–बस्ती एवं पर्यटकीय क्षेत्रमा तीव्र गतिमा निर्माण भइरहेका छन्। चलचित्रले थारु समुदायको कला, संस्कार, जीवनशैली र सानै उमेरमा विवाह गर्ने सामाजिक यथार्थलाई मार्मिक ढङ्गले प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

थारु कला–संस्कृतिको गहिरो प्रस्तुति

चलचित्रका कथाकार रेणु चौधरी र निर्देशक/अभिनेता पर्शुराम चौधरीको संयोजनमा निर्माण भइरहेको यस फिल्मको छायाङ्कन टोलीमा सन्देश मोते सिनेमाटोग्राफरका रूपमा अग्रपंक्तिमा छन्।
सृङ्गारतर्फ सोम मग्रान्ति र व्यवस्थापनमा ग्यानचन्द चौधरीले महत्वपूर्ण साथ दिइरहेका छन्।

कलाकारहरूको उपस्थिति पनि रमाइलो छ—
कैलालीका वीर चौधरी, संगिता चौधरी, नवलपरासीकी ममता चौधरी, रौतहटका वर्षा र मौसमी चौधरी, साथै मोरङ–सुनसरीका स्थानीय कलाकारहरूले अभिनयमार्फत फिल्म समृद्ध बनाइरहेका छन्।

निर्देशक पर्शुराम चौधरी भन्छन्-“हामी थारु समुदायको मौलिक कला–संस्कृति, संस्कार र जीवनशैलीलाई यथार्थ रूपमै दर्शकसमक्ष पुर्‍याउने लक्ष्यका साथ छायाङ्कन गरिरहेका छौँ। स्थानीय बस्तीको साथ, प्रेम र सहयोगले चलचित्र अझ सशक्त बन्दै गएको छ।”

सन्देश मोते : पूर्वमै बसेर पनि राष्ट्रिय पहिचान बनाएका छाँयाकार

सन्देश मोते नेपाली चलचित्र क्षेत्रमा २० वर्षभन्दा बढी समयदेखि सक्रिय छन्। सिनेमाटोग्राफी, निर्देशन र प्राविधिक क्षेत्रमा दुवै भूमिकाबाट उनले विशिष्ट पहिचान बनाउन सफल भएका छन्।

उनी भन्छन्- “राजधानीमै बस्नु आवश्यक छैन। मन, मेहनत र लगन भए पूर्वमै बसेर पनि उत्कृष्ट काम गर्न सकिन्छ।”

मोतेले थारु, भोजपुरी, मैथिली, सन्थाली, राजबंशी लगायत भाषाका दर्जनौँ फिल्मका छायांकन गरिसकेका छन्। उनले नेपाली मात्र होइन, विदेशी निर्देशकहरूसँग पनि काम गर्ने अवसर पाएका छन्, जसले उनको प्राविधिक क्षमताको मूल्यांकन स्पष्ट देखाउँछ।

उनले अहिलेसम्म ऐचो पैचोमा स्थानीय  सहयोग नाइँ  नभन्नु ल ६, रङेली, रामायण, बाटोमुनिको फूलजस्ता लोकप्रिय चलचित्रमा पूर्वमा रहेर   छायांकन तथा प्राविधिक सहयोग गरेका छन्।

पूर्वमै बसेर आफ्नो स्वतन्त्र प्रोडक्सन हाउस सञ्चालन गर्दै आएका मोते स्थानीय कलाकार, प्राकृतिक सौन्दर्य र मौलिक बस्तीको कारण पूर्वलाई छायांकनका लागि आकर्षक गन्तव्य बनाउने पक्षमा छन्।

पूर्वको पहिचान बन्दै सन्देश मोतेको योगदान

मोते निर्देशनमा पनि सक्रिय छन्। उनले निर्देशन गरेको अर्को नेपाली चलचित्र ‘आरबी’ निकट भविष्यमा प्रदर्शनको तयारीमा छ।
पूर्वमै बसेर बनाइएको यस फिल्मले स्थानीय प्रतिभाहरूलाई राष्ट्रीय पर्दामा ल्याउने अवसर दिएको पाइन्छ।

उनको निरन्तर मेहनत, स्थानीय क्षेत्रमा काम गर्ने प्रतिबद्धता र पूर्वप्रतिको लगावले पूर्वलाई चलचित्र छायांकनका लागि नयाँ केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा निर्माण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *