सुधन गुरुङसँग अब बयान लिने तयारी, छानबिन समिति अन्तिम चरणमा

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गरिरहेको समितिले अब उनीसँग बयान लिने तयारी गरेको छ। समितिले आधाभन्दा बढी काम सकिएको जनाएको छ।

मन्त्रिपरिषद्को २८ वैशाखको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठित समितिले गुरुङमाथि लागेको आरोप, सम्पत्ति विवरण र सम्बन्धित कागजातहरूको अध्ययन गरिसकेको स्रोतले जनाएको छ। अब उठेका प्रश्नबारे गुरुङसँग सोधपुछ गर्ने तयारी भइरहेको छ।

समितिका अध्यक्ष भण्डारीका अनुसार गुरुङ गृहमन्त्री भएका बेला सार्वजनिक भएका विषयमाथि तथ्य र प्रमाणका आधारमा छानबिन भइरहेको छ। प्रतिवेदन स्पष्ट निष्कर्षसहित पेश गरिने र दोषी वा निर्दोष जे भए पनि प्रमाणसहित उल्लेख गरिने समितिको दाबी छ।

समितिलाई काम सुरु भएको दिनदेखि १५ दिनको समय दिइएको थियो। हालसम्म एक साताभन्दा बढी समय बितिसकेको र तोकिएकै अवधिमा प्रतिवेदन बुझाउने गरी काम भइरहेको समितिले जनाएको छ।

व्यवसायी दीपक भट्ट सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेपछि उनीसँग साझेदारी रहेको विषय बाहिरिएसँगै गुरुङ विवादमा तानिएका थिए। सेयर विवरण लुकाएको तथा विवादास्पद व्यापारीसँग सम्बन्ध रहेको आरोपपछि गुरुङले ९ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए।

छानबिन नसकिँदै गृहमन्त्री नियुक्ति रोकिएकाले अबको गृहमन्त्री को बन्ने भन्ने विषय पनि राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। रास्वपाभित्र छानबिनबाट सफाइ पाए गुरुङ पुनः गृहमन्त्री बन्न सक्ने चर्चा भइरहेको भए पनि अन्तिम निर्णय प्रधानमन्त्री बालेन शाहको हातमा रहने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *