भारतको कडाइपछि पूर्वी सीमामा सतर्कता, झापा–मोरङमा सुरक्षा जाँच कडा
झापा । भारतको पश्चिम बंगाल क्षेत्रमा अवैध रूपमा बसोबास गर्दै आएका रोहिंगिया र बंगलादेशी मूलका व्यक्तिमाथि भारतीय प्रशासनले निगरानी बढाएपछि नेपाल–भारत सीमामा पनि सुरक्षा सतर्कता कडा पारिएको छ। खुला सीमाको फाइदा उठाएर तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गर्न सक्ने आशंकामा झापा र मोरङका सीमावर्ती नाकामा निगरानी तीव्र बनाइएको हो।
सुरक्षा निकायका अनुसार भारतले अवैध घुसपैठ नियन्त्रणका लागि विशेष रणनीति अघि बढाएसँगै केही रोहिंगिया तथा बंगलादेशी मूलका व्यक्ति अन्यत्र सर्ने प्रयासमा रहेको सूचना सार्वजनिक भएपछि पूर्वी सीमा क्षेत्रमा सुरक्षा संयन्त्र सक्रिय बनाइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले भारतीय सीमाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परिचय खुल्ने कागजात अनिवार्य जाँच गर्न थालिएको जनाएको छ। परिचयपत्रबिना आवतजावत गर्न खोज्नेहरूमाथि विशेष निगरानी राखिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार खुला सीमा भएकाले तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गर्ने सम्भावनालाई ध्यानमा राख्दै नियमितभन्दा बढी सतर्कता अपनाइएको हो। रोहिंगिया वा बंगलादेशी नागरिकलाई भाषा, पहिरन र हुलियाका आधारमा छुट्याउन कठिन हुने भएकाले सीमाक्षेत्रमा निगरानी बढाइएको सुरक्षा अधिकारीहरूको भनाइ छ।
यसअघि पनि काँकडभिट्टा नाकाबाट बिना प्रवेशाज्ञा नेपाल छिर्न खोज्ने दुई बंगलादेशी नागरिक पक्राउ परेको घटना सार्वजनिक भएको थियो। पछिल्लो अवस्थापछि झापा, मोरङलगायत पूर्वी सीमाक्षेत्रमा गस्ती, जाँच र परिचय प्रमाणीकरणलाई थप प्रभावकारी बनाइएको छ।
मोरङको जोगवनी नाकामा समेत नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई नागरिकता, राष्ट्रिय परिचयपत्र वा अन्य आधिकारिक कागजात साथमा राख्न निर्देशन दिइएको छ। कागजातबिना यात्रा गर्न नदिने नीति लागू गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
सुरक्षा विश्लेषकहरूले अनधिकृत रूपमा विदेशी नागरिक प्रवेश गर्दा मानव बेचबिखन, संगठित अपराध, नक्कली कागजात प्रयोग तथा सामाजिक तनावजस्ता जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्। त्यसैले सीमावर्ती क्षेत्रमा स्थानीय बासिन्दालाई पनि सतर्क रहन र शंकास्पद गतिविधि देखिए तत्काल सुरक्षा निकायलाई खबर गर्न आग्रह गरिएको छ।
