भवन विवादबीच कोशी अस्पतालको ब्लड बैंक सेवाको निरन्तरतामाथि चासो

विराटनगर । कोशी अस्पताल र नेपाल रेडक्रस सोसाइटी मोरङबीच ब्लड बैंक सञ्चालन भइरहेको भवनको स्वामित्वलाई लिएर विवाद सतहमा आएपछि रक्तसञ्चार सेवाको निरन्तरताबारे चासो बढेको छ। दुवै पक्षले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका बेला रेडक्रसले भने कुनै पनि अवस्थामा जीवनरक्षक सेवा प्रभावित हुन नदिन आग्रह गरेको छ।

कोशी अस्पतालले असार ५ गते १५ दिने र असार २२ गते ७ दिने सूचना प्रकाशित गर्दै देवकोटा चौकस्थित प्रादेशिक रक्तसञ्चार सेवा सञ्चालन भइरहेको भवन खाली गराउन प्रशासनिक प्रक्रिया अघि बढाएको जनाएको छ। अस्पतालले उक्त जग्गा आफ्नो स्वामित्व तथा व्यवस्थापनअन्तर्गत पर्ने दाबी गरेको छ।

यता नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाले रक्तसञ्चार सेवा २०२८ सालमा कोशी अस्पतालकै आग्रहमा अस्पताल परिसरबाट सुरु भएको र २०४२ सालमा तत्कालीन सरकारी निर्णय, स्वास्थ्य सेवा विभागको पत्राचार तथा अस्पताल व्यवस्थापन समितिको निर्णयअनुसार समाजसेवी चाँदमल राठीको सहयोगमा हालको भवन निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको जनाएको छ।

रेडक्रसले मालपोत कार्यालयको २०५४ साल भदौ १८ गतेको अभिलेख तथा नापी कार्यालयको फिल्डबुक र नक्सामा समेत सम्बन्धित विवरण आफ्नो पक्षमा रहेको दाबी गरेको छ।

रेडक्रस मोरङका सभापति सुकदेवप्रसाद मण्डलले भवनको स्वामित्वसम्बन्धी विवाद कानुनी प्रक्रियाबाट समाधान हुन सक्ने भए पनि त्यसका कारण रक्तसञ्चार सेवा अवरुद्ध हुन नहुने बताए। उनका अनुसार दुर्घटना, शल्यक्रिया, प्रसूति जटिलता, क्यान्सर, थालासेमिया, रक्तअल्पता तथा अन्य गम्भीर रोगका बिरामीका लागि रगत अत्यावश्यक हुने भएकाले सेवा निरन्तर सञ्चालन सुनिश्चित गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक छ।

हाल उक्त प्रादेशिक रक्तसञ्चार केन्द्रबाट दैनिक एक सयभन्दा बढी बिरामीले रगत तथा विभिन्न रक्ततत्त्व सेवा प्राप्त गर्दै आएका छन्। त्यसैले भवन स्वामित्वको विवाद समाधान गर्ने प्रक्रिया आफ्नो ठाउँमा रहे पनि जीवनरक्षक रक्तसञ्चार सेवा कुनै पनि अवस्थामा प्रभावित हुन नदिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *