एमबाप्पे–डेम्बले चम्किँदा फ्रान्स फेरि विश्वकप सेमिफाइनलमा

काठमाडौं । किलियन एमबाप्पे र ओसमान डेम्बलेको दोस्रो हाफको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। लगातार तेस्रो विश्वकप फाइनल पुग्ने लक्ष्य बोकेको फ्रान्स अब अन्तिम चारमा स्पेन र बेल्जियमबीचको विजेतासँग भिड्नेछ।

शुक्रबार बिहान भएको क्वार्टरफाइनलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि फ्रान्सले दोस्रो हाफमा खेलको लय आफ्नो पक्षमा पार्यो। २६औँ मिनेटमा एमबाप्पेले पेनाल्टीबाट गोल गर्ने अवसर गुमाएका थिए। उनको प्रहारलाई मोरक्कोका गोलरक्षक बोनोले उत्कृष्ट रूपमा बचाएका थिए।

तर दोस्रो हाफमा एमबाप्पेले गल्ती सुधार्दै ६०औँ मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहारमार्फत फ्रान्सलाई अग्रता दिलाए। प्रतियोगितामा उनको यो आठौँ गोल हो, जससँगै उनी सर्वाधिक गोलकर्ताको सूचीमा लियोनेल मेसीसँग बराबरीमा पुगेका छन्।

फ्रान्सको अग्रता बनेको मात्र ६ मिनेटपछि ओसमान डेम्बलेले अर्को आकर्षक गोल गर्दै जित सुनिश्चित गरे। एमबाप्पेको पासलाई सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको सशक्त प्रहारले सिधै जाली चुमेको थियो। प्रतियोगितामा डेम्बलेको यो पाँचौँ गोल हो भने एमबाप्पेले तेस्रो असिस्ट पनि आफ्नो नाममा लेखाए।

सन् २०१८ मा विश्वकप जितेको र २०२२ मा फाइनलसम्म पुगेको फ्रान्स अहिले लगातार तेस्रो पटक उपाधि भिडन्तमा पुग्ने लक्ष्यसहित अघि बढिरहेको छ। यता, मोरक्को भने लगातार दोस्रो विश्वकपमा फ्रान्ससँग नकआउट चरणमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। सन् २०२२ मा मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेर इतिहास रचेको थियो, तर यसपटक पनि फ्रान्स नै उसको यात्राको अन्तिम बाधा बन्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *