कोशीमा लागुऔषध मुद्दा बढ्दो, एक वर्षमै २ हजारभन्दा बढी पक्राउ

मोरङ । कोशी प्रदेशमा लागुऔषध दुर्व्यसन र कारोबारका घटना बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै प्रदेशभर लागुऔषधसम्बन्धी एक हजार ४३७ मुद्दा दर्ता हुँदा दुई हजार २०३ जना पक्राउ परेका छन्।

बढ्दो दुर्व्यसन नियन्त्रणका लागि विराटनगरमा शनिबारदेखि सुरु गरिएको महाअभियान कार्यक्रममा प्रदेश सरकार, सुरक्षा निकाय र स्थानीय तहले संयुक्त रूपमा नियन्त्रण अभियान प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुऔषध दुर्व्यसनलाई समाज र राष्ट्रकै गम्भीर चुनौतीका रूपमा व्याख्या गरे। उनले प्रहरीको प्रयास मात्रै पर्याप्त नहुने भन्दै परिवार, विद्यालय र समुदायसमेत अभियानमा जोडिनुपर्ने बताए।

मुख्यमन्त्री कार्कीले दुर्व्यसनमा फसेका युवाको पुनःस्थापनाका लागि कोभिड–१९ का बेला निर्माण गरिएका मोरङको रानी र झापाको काँकरभिट्टास्थित होल्डिङ सेन्टरलाई सुधार गृहका रूपमा विकास गर्न प्रस्तावसमेत अघि सारे।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले युवालाई दुर्व्यसनबाट जोगाउन सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए भने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीमा क्षेत्रबाट हुने लागुऔषध ओसारपसार नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय आवश्यक रहेको धारणा राखे।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले लागुऔषधको अवैध कारोबार र सीमापार तस्करीमा संलग्नविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *