बजेटअघि लुम्बिनी सरकारमा ठूलो हेरफेर, अधिकांश मन्त्री बदलिने
रूपन्देही । लुम्बिनी प्रदेश सरकारमा बजेटअघि नै ठूलो राजनीतिक फेरबदल हुने संकेत देखिएको छ। सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले मुख्यमन्त्री चेतनारायण आचार्यलाई यथावत राख्दै सरकारका अधिकांश मन्त्री परिवर्तन गर्ने सहमति गरेका छन्।
दुई दलका प्रदेश नेता र सांसदहरू देउखुरीमा जुटेर मन्त्रिमण्डल पुनर्गठनको अन्तिम गृहकार्यमा लागेका छन्। आज प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेलगत्तै नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।
नयाँ समझदारीअनुसार कांग्रेसले चार र एमालेले तीन मन्त्रालय पाउनेछन्। यसअघि १२ मन्त्रालय रहेको प्रदेश सरकार अब आठ मन्त्रालयमा सीमित हुने निर्णय भइसकेको छ। त्यससँगै हाल सरकारमा सहभागी जसपा र लोसपाका मन्त्री बाहिरिने निश्चितजस्तै भएको छ।
मन्त्री हेरफेरको निर्णयसँगै सरकारभित्र असन्तुष्टि पनि देखिएको छ। केही मन्त्रीहरूले नीति तथा कार्यक्रम र बजेटको मुखमा गरिएको फेरबदलले जनतामा राम्रो सन्देश नजाने बताएका छन्।
कांग्रेस र एमालेबीच यसअघि भएको सहमतिअनुसार बजेटपछि सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्ने समझदारी भए पनि कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षका कारण नेतृत्व परिवर्तन अन्योलमा परेको थियो। अहिले भने कांग्रेसभित्र पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई पुनः अघि सार्ने चर्चा चुलिएको छ।
एमालेभित्र पनि मन्त्री परिवर्तनको दबाब बढेको छ। २९ सांसदमध्ये २१ जनाले वर्तमान मन्त्री हटाएर नयाँ अनुहार ल्याउनुपर्ने भन्दै हस्ताक्षरसहित मुख्यमन्त्रीलाई दबाब दिइसकेका छन्।
कांग्रेसतर्फ प्रदेश सभापति अमरसिंह पुनले मन्त्री चयनको गृहकार्य गरिरहेका छन् भने एमालेले पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि सम्भावित मन्त्रीहरूको सूची टुंग्याएको स्रोतले जनाएको छ।
