सुन्दर देखिएकै आधारमा आलोचना भयो’ भन्दै सांसद सृष्टी भट्टराईको असन्तुष्टि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टी भट्टराईले आफूलाई कामभन्दा पनि बाहिरी रूपका आधारमा आलोचना गरिएको भन्दै असन्तुष्टि जनाएकी छन्। सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रवृत्तिलाई “पाखण्डीपनको पराकाष्ठा” भनेकी छन्।
फेसबुकमा स्टाटस लेख्दै भट्टराईले भ्रष्टाचारजस्ता विषयमा मौन रहनेहरू आफूलाई भने “सुन्दर देखिएकै आधारमा” आलोचना गरिरहेको टिप्पणी गरेकी हुन्। उनले पछिल्ला दिनमा आएका टिप्पणीहरू सुन्दा अनौठो लाग्ने गरेको उल्लेख गरेकी छन्।
भट्टराईले आफू प्रश्न गर्ने ठाउँबाट जवाफ दिने भूमिकामा पुगेको भन्दै नयाँ पुस्ता राजनीतिमा आएको कारण पनि यही अवस्था रहेको बताएकी छन्। उनले चुप लागेर बस्ने पुस्तामा आफूहरू नपर्ने उल्लेख गर्दै विचार र भूमिकालाई फराकिलो बनाउन आग्रहसमेत गरेकी छन्।
उनको अभिव्यक्ति कसलाई लक्षित गरेर गरिएको हो भन्ने खुलेको छैन। पछिल्लो समय सामाजिक सञ्जालमा उनीमाथि विभिन्न टिप्पणीहरू भइरहेका बेला उनले सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी हुन्।
सुनसरीकी भट्टराई रास्वपाबाट समानुपातिक सांसद बनेकी हुन्। राजनीतिमा आउनुअघि उनी सुनसरी जिल्ला अदालतमा बाल विशेषज्ञ तथा कोशी प्रदेशमा करिअर काउन्सिलरका रूपमा सक्रिय थिइन्।
