उत्पादनदेखि डिजिटल सुशासनसम्म, कोशी सरकारले तय गर्‍यो नयाँ प्राथमिकता

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास र डिजिटल सुशासनलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख परशुराम खापुङले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिलाई आर्थिक वृद्धिको मुख्य आधार बनाइएको छ।

सरकारले कृषि उत्पादन वृद्धि, सिँचाइ विस्तार र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिने जनाएको छ। युवालाई स्वरोजगार र उद्यमशीलतामा आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरिएको छ।

पूर्वाधार विकासअन्तर्गत सडक, पुल, खानेपानी तथा ऊर्जा आयोजनालाई तीव्रता दिने योजना अघि सारिएको छ। हरित तथा नवीकरणीय ऊर्जामा निजी क्षेत्रको लगानी भित्र्याउने नीति पनि कार्यक्रममा समेटिएको छ।

सार्वजनिक सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत छिटो, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य सरकारले लिएको छ। साथै प्रदेश लोकसेवा आयोगलाई ‘ट्यालेन्ट हब’का रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

शिक्षातर्फ प्राविधिक तथा सीपमूलक शिक्षामा जोड दिइने भएको छ भने स्वास्थ्य क्षेत्रमा अस्पताल सुदृढीकरण र सेवाको पहुँच विस्तार गरिने उल्लेख गरिएको छ। महिला, विपन्न तथा पिछडिएका समुदायको सशक्तीकरण, सामाजिक सुरक्षा विस्तार, सहकारी तथा वित्तीय क्षेत्र सुधार तथा भ्रष्टाचार नियन्त्रणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ।

सरकारले आगामी आर्थिक वर्षमा विपन्न नागरिकका लागि ‘कोशी जनता आवास कार्यक्रम’लाई निरन्तरता दिने घोषणा पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *