महाकालीमा अवैध उत्खननबारे अख्तियारमा उजुरी, प्रशासनको चासो बढ्यो

बैतडीको नेपाल–भारत सीमामा पर्ने महाकाली नदी किनारमा भइरहेको अवैध उत्खनन प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेपछि सम्बन्धित निकाय सक्रिय बनेका छन्। उजुरी परेपछि उत्खननको काम रोकिएको छ भने जिल्ला प्रशासन कार्यालयले पञ्चेश्वर गाउँपालिकासँग वास्तविक विवरण मागेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले अवैध उत्खननबारे उजुरी परिसकेको र कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्। गाउँपालिकाले पनि अख्तियारको पत्र प्राप्त भएको जनाउँदै आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।

पञ्चेश्वर गाउँपालिका–४ जङ्गलतडा क्षेत्रमा कन्काई कुमार केएस जेभीले गत माघदेखि महाकाली नदीमा उत्खनन गर्दै आएको थियो। उक्त कम्पनीले मेलौली–पञ्चेश्वर सडक स्तरोन्नतिको ठेक्का पाएको छ। कम्पनीले नदी किनारमै क्रसर सञ्चालन गरेर ढुंगा, गिट्टी र बालुवा उत्खनन गरिरहेको आरोप लागेको छ।

क्रसर मापदण्ड–२०७७ अनुसार सिमाना नदीबाट कम्तीमा एक किलोमिटर टाढा वातावरणीय प्रभाव मूल्यांकनपछि मात्रै क्रसर सञ्चालन गर्न पाइने व्यवस्था छ। तर सम्बन्धित कम्पनीले आवश्यक प्रक्रिया पूरा नगरी उत्खनन र क्रसर सञ्चालन गरेको स्थानीयको आरोप छ।

विवाद सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको टोलीले स्थलगत अनुगमन तथा गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ। यद्यपि, हालसम्म कानुनी कारबाहीबारे ठोस निर्णय भने हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *