गछियाको गोल्डकप : फुटबलसँगै पारदर्शिता र पहिचानको बहस
गछियाको गोल्डकप : फुटबलसँगै पारदर्शिता र पहिचानको बहस
दोस्रो संस्करणलाई अझ भव्य बनाउने तयारी, “साजिलाल खेल मैदान” नामकरणको प्रस्ताव
एलएन गच्छदार । सुन्दरहरैंचा ।
मोरङको सुन्दरहरैंचा–३, गछिया केही महिनाअघिसम्म सामान्य बजार क्षेत्रजस्तै देखिन्थ्यो । तर गत मंसिर १५ गतेदेखि आयोजित “अन्तर्राष्ट्रिय आमन्त्रण एनी प्रथम गछिया गोल्डकप–२०८२” ले त्यो क्षेत्रलाई फुटबलमय बनाइदियो । स्थानीय युवाको सक्रियता, दर्शकको उत्साह र विभिन्न संघसंस्थाको सहयोगले पहिलो संस्करणमै प्रतियोगिताले प्रदेशस्तरमै चर्चा कमायो ।
त्यही गोल्डकपको आय–व्यय शनिबार सार्वजनिक गरियो । गच्छियास्थित एसएस क्याफे एन्ड रेष्ट्रोमा आयोजित कार्यक्रममा आयोजक गच्छिया युवा समाजले प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गर्दै दोस्रो संस्करणलाई अझ भव्य र व्यवस्थित बनाउने घोषणा गरेको हो ।
आयोजकका अनुसार विभिन्न संघसंस्था, शिक्षा साझेदार, प्रायोजक, स्थानीय निकाय, टिकट बिक्री तथा सिजनल पासमार्फत ५० लाख २५ हजार ३ सय ३८ रुपैयाँ आम्दानी भएको छ । प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा ४२ लाख ५७ हजार ३ सय ७० रुपैयाँ खर्च भएको तथा ७ लाख ६७ हजार ९ सय ६८ रुपैयाँ उठ्न बाँकी रहेको जानकारी दिइयो । साथै रेडबुल कम्पनीबाट १६ कार्टुन सहयोग प्राप्त भएको पनि आयोजकले जनाएको छ ।
स्थानीय स्तरमा आयोजना गरिएको प्रतियोगिताले यति ठूलो आर्थिक कारोबार पारदर्शी रूपमा सार्वजनिक गर्नु आफैंमा सकारात्मक अभ्यास भएको सहभागीहरूले बताएका छन् । कार्यक्रममा बोल्दै खेल संयोजक प्रलाहद थोप्राले पहिलो संस्करणले अपेक्षाभन्दा बढी सफलता हासिल गरेको बताए ।
“पहिलो पटक आयोजना गर्दा अनुभव कम थियो, चुनौती धेरै थिए,” उनले भने, “तर स्थानीयवासी, खेलप्रेमी, व्यवसायी, प्रायोजक र स्थानीय तहको साथले प्रतियोगिता सफल भयो । अब दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी गरिरहेका छौं ।”
खेल सहसंयोजक मनोज राईले प्रतियोगिताले गच्छियाको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै आगामी संस्करणलाई अझ प्रतिस्पर्धात्मक र दर्शकमैत्री बनाइने बताए । उनले गछियास्थित खेल मैदानलाई “साजिलाल खेल मैदान” नामकरण गर्नुपर्ने प्रस्तावसमेत अघि सारे ।
“खेल मैदान केवल खेल्ने ठाउँ मात्रै होइन, समुदायको पहिचान पनि हो,” राईले भने, “स्थानीय इतिहास, योगदान र पहिचानलाई सम्मान गर्न मैदानको नामकरण आवश्यक छ ।”
गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले गोल्डकपले गच्छियाको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । खेलकुदमार्फत युवालाई सकारात्मक दिशामा अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै उनले पहिलो संस्करणबाट पाएको उत्साहले आयोजक टोलीलाई थप जिम्मेवार बनाएको बताए ।
“हामीले सुरुदेखि नै पारदर्शितालाई प्राथमिकतामा राखेका छौं,” दाहालले भने, “त्यसैले सार्वजनिक रूपमा आय–व्यय प्रस्तुत गरेका हौं । खेलकुदमार्फत युवालाई अनुशासित, सक्रिय र सकारात्मक बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास हो ।”
आयोजकका अनुसार दोस्रो संस्करणमा थप विदेशी टोली सहभागी गराउने, पुरस्कार राशि वृद्धि गर्ने तथा दर्शकमैत्री व्यवस्थापनलाई थप प्रभावकारी बनाइनेछ । स्थानीय खेलप्रेमीहरूका अनुसार गच्छिया गोल्डकपले केवल फुटबल प्रतियोगिताको रूप मात्रै लिएको छैन, यसले स्थानीय व्यापार, सामाजिक सक्रियता र युवाको सहभागितालाई समेत चलायमान बनाएको छ ।




