झापामा वैदेशिक रोजगारी ठगी बढ्दो, झोले एजेन्ट र म्यानपावरमाथि कडा अनुगमनको माग

झापा । गाउँघरमा सक्रिय झोले एजेन्ट र केही म्यानपावर कम्पनीको गैरजिम्मेवार गतिविधिका कारण वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक ठगिने क्रम बढ्दै गएको भन्दै सरोकारवालाले प्रभावकारी अनुगमन र कडा कारबाहीको माग गरेका छन्।

भद्रपुर नगरपालिकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालय झापामा आयोजना गरेको म्यानपावर व्यवसायी तथा सरोकारवाला निकायबीचको समन्वयात्मक छलफलमा सहभागीहरूले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन स्थानीय तह, प्रशासन र म्यानपावर व्यवसायीबीच सहकार्य अपरिहार्य रहेको बताएका हुन्।

कार्यक्रममा सामी कार्यक्रमका संयोजक शेखर बुढाथोकीले प्रस्तुत गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असार १७ गतेसम्म कोशी प्रदेशका आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रबाट ७२ हजार १७० जनाले सेवा लिएका छन्। वैदेशिक रोजगारीसँग सम्बन्धित ७०३ वटा समस्या दर्ता भएकामध्ये २५९ वटा समाधान भइसकेका छन् भने पीडितको पक्षमा करिब ११ करोड ९४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गराउन सफल भएको जानकारी दिइयो।

भद्रपुर नगरपालिकाअन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रले हालसम्म १५ हजार ७३४ जनालाई सूचना तथा परामर्श सेवा दिएको छ। केन्द्रले वैदेशिक रोजगारसँग सम्बन्धित ११७ वटा समस्यामा सहजीकरण गर्दा ५६ वटा समस्या समाधान भई पीडितले २३ लाख ४८ हजार रुपैयाँभन्दा बढी आर्थिक राहत प्राप्त गरेका छन्।

साउदी अरेबियाको जीओएसआई (सामाजिक बीमा) कार्यक्रममार्फत झापाका १२ जनाको समस्या सहजीकरण गरिएकोमा आठ जनाले एक करोड ८२ लाख रुपैयाँभन्दा बढी सुविधा प्राप्त गरेको जानकारी पनि कार्यक्रममा दिइयो।

प्रस्तुत तथ्यांकअनुसार नेपालबाट दैनिक औसत दुई हजार २९९ जना श्रमिक वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन्। उनीहरूमध्ये अधिकांश संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, मलेसिया तथा अन्य खाडी मुलुक जाने गरेका छन् भने करिब ७५ प्रतिशत श्रमिक अदक्ष रहेका छन्। नेपालका करिब ७६.५६ प्रतिशत घरधुरी विप्रेषणमा निर्भर रहेको उल्लेख गर्दै बुढाथोकीले वैदेशिक रोजगारीका क्रममा हुने ठगी, शोषण र जालसाजी विदेश पुगेपछि पनि नरोकिएको बताए।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा पुनः श्रम स्वीकृतिसहित आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका थिए। तीमध्ये कोशी प्रदेशबाट एक लाख ७७ हजार ६५५ जना वैदेशिक रोजगारीमा गएका थिए। झापा मात्रैबाट ३८ हजार ८०० जनाले श्रम स्वीकृति लिएका थिए भने चालु आर्थिक वर्षको जेठसम्म यो संख्या ३२ हजार ११४ पुगेको छ।

कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा हुने ठगी, सम्झौताविपरीत काममा लगाउने, अत्यधिक सेवा शुल्क असुल्ने, राहदानी नियन्त्रणमा राख्ने, उद्धार तथा कानुनी सहायताका विषयमा समेत छलफल भएको थियो। वैदेशिक रोजगार ऐन, २०६४ अनुसार यस्ता कसुरमा तीनदेखि सात वर्षसम्म कैद र तीनदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको जानकारी दिइयो।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सुरक्षित सूचना, परामर्श, मनोसामाजिक सहयोग, कानुनी सहजीकरण र उद्धार सेवा उपलब्ध गराइरहेको उल्लेख गर्दै श्रमिक ठगी न्यूनीकरणमा सबै पक्षको जिम्मेवारी आवश्यक रहेको बताए।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रशासन कार्यालयमा दैनिकजसो वैदेशिक रोजगारीको नाममा ठगीसम्बन्धी उजुरी आउने गरेको उल्लेख गर्दै अब जिल्लामा सञ्चालनमा रहेका सबै म्यानपावर कम्पनीमाथि नियमित अनुगमन गरिने बताए। उनका अनुसार झापामा २०० भन्दा बढी म्यानपावर कम्पनी सञ्चालनमा रहे पनि १३० वटा मात्रै व्यवसायी संघमा आबद्ध छन्।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघ झापाका पदाधिकारी तथा सरोकारवालाले मेडिकल परीक्षणमा असफल भएका व्यक्तिलाई गैरकानुनी रूपमा विदेश नपठाउने, सरकारले तोकेको शुल्क मात्र लिने, श्रमिकलाई सम्झौताअनुसारकै काममा पठाउने, प्रतिबन्धित मुलुकमा कामदार नपठाउने तथा आर्थिक कारोबार पारदर्शी बनाउन सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *