पंखु खोलाको बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध, यातायात सेवा ठप्प
खोटाङ । खोटाङको पंखु खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवा सडकखण्ड बगाउँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ स्थित बुवालुङ र लामीडाँडालाई जोड्ने पंखु खोलामा शुक्रबार बिहान करिब ५ः३० बजे आएको बाढीले सडकको करिब २० मिटर भाग बगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। सडक क्षतिग्रस्त भएपछि सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द भएको छ।
स्थानीयका अनुसार खोलामा पानीको बहाव उच्च रहेकाले सवारी साधन वारपार गर्ने अवस्था छैन। यसका कारण यात्रु, मालवाहक सवारी, एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवासमेत प्रभावित भएका छन्।
पंखु खोलामा निर्माणाधीन पक्की पुल लामो समयदेखि अलपत्र परेकाले वर्षायाममा हरेक वर्ष यातायात समस्या दोहोरिने गरेको छ। २०७३ सालमै सम्पन्न हुनुपर्ने १५ मिटर लामो पुल निर्माण ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पूरा हुन नसकेपछि २०७९ सालमा ठेक्का सम्झौता रद्द गरिएको थियो।
यसैबीच, स्थानीय आवतजावत सहज बनाउन श्रम संस्कृति पार्टीले गत जेठ १५ देखि १७ गतेसम्म श्रमदान गरेर निर्माण गरेको काठे पुलसमेत बाढीले बगाएको छ।
ठेक्का रद्द भएको तीन वर्ष बितिसक्दा पनि नयाँ निर्माण प्रक्रिया अघि नबढ्दा स्थानीयवासीले सास्ती खेप्दै आएका छन्। बाढीपछि तत्काल सडक पुनः सञ्चालन र पक्की पुल निर्माण प्रक्रिया अघि बढाउन स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्।





