पुल नबन्दा पाँचथरका सडकमा वर्षेनी सास्ती, बाढीले डाइभर्सन बगाउँदा यातायात प्रभावित
पाँचथर । पाँचथरका विभिन्न नदी तथा खोलामा स्थायी पुल निर्माण नहुँदा वर्षायाम सुरु भएसँगै यातायात आवागमन प्रभावित हुन थालेको छ। अस्थायी डाइभर्सनमा निर्भर मुख्य सडकहरू बाढीले पटक–पटक बगाउँदा यात्रु, स्थानीयवासी र ढुवानी व्यवसायीले सास्ती खेप्न बाध्य भएका छन्।
पूर्वी पहाडलाई तराईसँग जोड्ने महत्वपूर्ण तमोर कोरिडोर सडकअन्तर्गत हेँवा र नावा खोलामा निर्माण गरिएका अस्थायी डाइभर्सन बाढीको उच्च जोखिममा छन्। सामान्य वर्षासमेत हुँदा डाइभर्सन क्षतिग्रस्त हुने र सवारीसाधन सञ्चालन अवरुद्ध हुने समस्या दोहोरिँदै आएको स्थानीयवासी बताउँछन्। नावा खोलामा पानीको बहाव बढेपछि दुईपाङ्ग्रे सवारी झोलुङ्गे पुलबाट तार्ने गरिएको छ भने अन्य सवारीसाधन जोखिम मोलेर खोलाबाटै वारपार गर्नुपर्ने अवस्था छ।
स्थानीयका अनुसार हेँवा खोलामा यस वर्ष चैत महिनादेखिनै बाढीले डाइभर्सन बगाउन थालेको छ। डाइभर्सन नहुँदा ताप्लेजुङ तथा उत्तरी पाँचथरबाट तराईतर्फ जाने सवारीसाधनलाई लामो दूरी घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।
यस्तै, पुष्पलाल ९मध्यपहाडी० राजमार्गअन्तर्गत याङवरक गाउँपालिका–२ दोभानेस्थित मेवा खोलामा बनाइएको अस्थायी डाइभर्सन पनि बाढीले पटक–पटक बगाउँदै आएको छ। तीन वर्षअघि सडक पुल बगेपछि डाइभर्सनकै भरमा यातायात सञ्चालन गरिँदै आए पनि प्रत्येक वर्ष वर्षायाममा समस्या दोहोरिने गरेको छ।
स्थानीय जनप्रतिनिधि र बासिन्दाले निर्माणाधीन पुलहरूको काम छिटो सम्पन्न गर्न तथा डाइभर्सनलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। यसैबीच, जिल्ला विपद् व्यवस्थापन समितिले अवरुद्ध सडक नियमित सञ्चालनका लागि स्थानीय तह, आयोजना कार्यालय र निर्माण व्यवसायीसँग समन्वय गर्ने निर्णय गरेको जनाएको छ।
स्थायी पुल निर्माणमा भइरहेको ढिलाइका कारण वर्षेनी दोहोरिने समस्या समाधान हुन नसक्दा पाँचथरका नागरिक अझै सुरक्षित र सहज यातायात सेवाको पर्खाइमा छन्।
