हात्तीको त्रासबीच झापामा सुपारीको उदय, किसानका लागि दीर्घकालीन आम्दानीको भरपर्दो आधार

झापा । जङ्गली हात्तीले बर्सेनि खेतीबाली नष्ट गर्ने झापाका उत्तरी वनक्षेत्रसँग जोडिएका बस्तीमा कृषकले नयाँ आर्थिक आधार फेला पारेका छन्। धान, मकै, गहुँ, तरकारी र केरा जस्ता बालीमा बारम्बार क्षति व्यहोर्नुपरेपछि किसानहरू अहिले सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन्।

विशेषगरी बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका क्षेत्रमा सुपारीखेती तीव्र रूपमा विस्तार भइरहेको छ। हात्तीबाट तुलनात्मक रूपमा कम क्षति हुने, एक पटक रोपेपछि दशकौँसम्म उत्पादन दिने र कम श्रममै राम्रो आम्दानी हुने भएकाले सुपारी किसानको रोजाइमा परेको हो।

बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्लेका अनुसार सुपारीको बगान स्थापना गरेपछि ४० देखि ५० वर्षसम्म नियमित उत्पादन लिन सकिन्छ। “अन्य नगदेबालीको तुलनामा यसको हेरचाह खर्च कम छ र आम्दानी दीर्घकालीन हुन्छ,” उनले भने।

झापामा सुपारीखेतीको मुख्य केन्द्रका रूपमा बुद्धशान्ति गाउँपालिका परिचित छ। वडा नं. १, ३, ४ र ५ का अधिकांश किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सुपारी उत्पादनसँग जोडिएका छन्। गाउँपालिका अध्यक्ष मनोज प्रसाईंका अनुसार सुपारीबाट हुने नगद आम्दानीले ग्रामीण अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएको छ। वैदेशिक रोजगारीमा जाने सोच बनाएका केही युवा समेत अहिले सुपारीखेती र नर्सरी व्यवसायमा फर्किन थालेका छन्।

अर्जुनधारा र मेचीनगरका वन क्षेत्रसँग जोडिएका बस्तीमा पनि सुपारीखेती विस्तार भइरहेको छ। स्थानीय कृषि प्राविधिकहरूका अनुसार यी क्षेत्रका करिब ४० प्रतिशत कृषक कुनै न कुनै रूपमा सुपारी उत्पादनसँग आबद्ध छन्। हात्तीले धान, मकै र तरकारीमा ठूलो क्षति पुर्‍याए पनि सुपारीका बगानमा कम असर पर्ने अनुभवपछि नयाँ बगान स्थापना गर्ने क्रम बढ्दो छ।

बुद्धशान्ति–५ का कृषक गजाधर पौडेलले १६ कठ्ठा जग्गामा लगाएका करिब ५०० उत्पादनशील सुपारीका बोटबाट वार्षिक झण्डै दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्। जिल्लाका कतिपय किसानले ठूलो क्षेत्रफलमा सुपारीखेती गरी वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताइन्छ।

सुपारीखेतीको अर्को विशेषता अन्तरबाली प्रणाली हो। किसानहरूले सुपारीका बोटबीच अदुवा, बेसार, कफी, केरा, खुर्सानी तथा अन्य तरकारी खेती गरेर एउटै जमिनबाट बहुआयामिक आम्दानी गरिरहेका छन्। यसले उत्पादन लागत घटाउने र आम्दानीका स्रोत बढाउने काम गरेको छ।

खेती विस्तारसँगै सुपारीका बिरुवाको माग पनि बढेको छ। बुद्धशान्ति, अर्जुनधारा र मेचीनगरमा व्यावसायिक नर्सरी सञ्चालन गर्ने युवाको सङ्ख्या बढ्दै गएको छ। बुद्धशान्तिका कृषक आयुष निरौलाले वैदेशिक रोजगारीको योजना त्यागेर सुपारी नर्सरी सञ्चालन सुरु गरेका छन्। उनका अनुसार अहिले बिरुवा उत्पादनबाट नै राम्रो आम्दानी भइरहेको छ।

यद्यपि उत्पादन बढ्दै गए पनि प्रशोधन, ब्रान्डिङ र बजारीकरणमा चुनौती कायम छ। स्थानीय किसान तथा व्यवसायीका अनुसार आधुनिक प्रशोधन प्रविधि, गुणस्तर परीक्षण, प्याकेजिङ तथा निर्यात सहजीकरणको अभावले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार नेपालभर चार हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा सुपारीखेती भइरहेको छ। झापामा मात्रै करिब दुई हजार हेक्टर क्षेत्रफलमा सुपारी उत्पादन हुने अनुमान छ, जुन पछिल्ला वर्षमा थप विस्तार हुँदै गएको बताइन्छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन कार्यक्रम सञ्चालनमा छ। यसमार्फत सिँचाइ, नर्सरी व्यवस्थापन, कृषक तालिम तथा प्रशोधन उपकरणमा सहयोग प्रदान भइरहेको छ।

वन्यजन्तुको जोखिमका बीच स्थिर आम्दानी दिने नगदेबालीका रूपमा स्थापित हुँदै गएको सुपारीखेती अहिले झापाका किसानका लागि वैकल्पिक खेती मात्र होइन, दीर्घकालीन आर्थिक सुरक्षाको आधार बन्दै गएको छ। किसानहरूका अनुसार प्रशोधन, निर्यात र ब्रान्डिङमा सरकारी सहयोग बढाउन सके सुपारी झापाको मात्र नभई नेपालको महत्वपूर्ण निर्यातयोग्य कृषि उपज बन्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *