माउन्ट मकालु डान्सिङ आइडलमा संस्कृति झल्काउने प्रस्तुति, कल्चर राउण्डमा विद्यार्थीको उत्कृष्ट प्रदर्शन

एलएन गच्छदार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–३ मा रहेको माउन्ट मकालु आवासीय माध्यमिक विद्यालयमा आयोजना भइरहेको ‘माउन्ट मकालु डान्सिङ आइडल–२०८३’ अन्तर्गतको कल्चर राउण्ड उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

विद्यार्थीभित्र लुकेको नृत्य प्रतिभाको पहिचानसँगै नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको कल्चर राउण्डमा विद्यार्थीहरूले विभिन्न जातजाति, समुदाय र क्षेत्रका मौलिक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए।

परम्परागत भेषभूषा, संगीत र नृत्यको संयोजनमा विद्यार्थीहरूले प्रस्तुत गरेको आकर्षक प्रस्तुतिले कार्यक्रमस्थललाई सांस्कृतिक रंगले भरिदिएको थियो। विद्यार्थीहरूले नृत्यमार्फत नेपाली समाजको विविधता र मौलिक संस्कृतिलाई प्रस्तुत गरेका थिए।

‘प्रतिभासँगै संस्कृतिको संरक्षण आवश्यक’ : हेमन्त कार्की

विद्यालयका संस्थापक तथा प्रिन्सिपल हेमन्त कार्कीले डान्सिङ आइडललाई विद्यार्थीको नृत्य प्रतिभा प्रदर्शन गर्ने मञ्च मात्र नभई कला र संस्कृतिसँग जोड्ने अभियानका रूपमा अघि बढाइएको बताए।

उनले विद्यार्थीलाई किताबी ज्ञानसँगै कला, संस्कृति, सिर्जनशीलता र आत्मविश्वास विकास गर्ने अवसर दिनुपर्नेमा जोड दिँदै कल्चर राउण्डले नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृति चिन्ने र त्यसप्रति गर्व गर्ने वातावरण बनाएको बताए।

कार्कीका अनुसार विद्यालयले विद्यार्थीको प्रतिभा पहिचान गरी उनीहरूलाई आफ्नो रुचिको क्षेत्रमा अघि बढाउन विभिन्न अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको छ। “विद्यार्थीको प्रतिभा केवल परीक्षाको अंकमा सीमित हुँदैन, कला र सिर्जनशीलतामार्फत पनि उनीहरूको क्षमता पहिचान गर्नुपर्छ,” उनले भने।

शिव श्रेष्ठको निर्णायक भूमिका

कल्चर राउण्डमा विद्यार्थीहरूको नृत्य प्रस्तुति मूल्यांकनका लागि नृत्य निर्देशक शिव श्रेष्ठ निर्णायकको भूमिकामा रहेका थिए। नृत्यको शैली, प्रस्तुति, तालमेल, भावभंगिमा, मौलिकता, पोशाक तथा सांस्कृतिक पक्षलाई आधार बनाएर विद्यार्थीहरूको प्रस्तुति मूल्यांकन गरिएको थियो।

नृत्य क्षेत्रमा अनुभव बोकेका श्रेष्ठको उपस्थितिले विद्यार्थीलाई आफ्नो प्रस्तुति थप परिष्कृत बनाउन प्रेरणा मिलेको विद्यालयले जनाएको छ। उनले विद्यार्थीहरूको प्रस्तुति हेर्दै प्रतिभालाई सही दिशानिर्देश र निरन्तर अभ्यासमार्फत थप निखार्न सकिने धारणा राखेका थिए।

कल्चर राउण्डमा विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक नृत्यले नेपाली समाजमा रहेको जातीय तथा सांस्कृतिक विविधतालाई समेत उजागर गरेको थियो।

माउन्ट मकालु डान्सिङ आइडल–२०८३ मार्फत विद्यालयले विद्यार्थीको प्रतिभा पहिचानसँगै उनीहरूमा आत्मविश्वास, अनुशासन, प्रस्तुति क्षमता र सांस्कृतिक चेतना विकास गर्ने लक्ष्य लिएको छ।

कल्चर राउण्डपछि प्रतियोगिताको आगामी चरणमा विद्यार्थीहरू अझ उत्साहित देखिएका छन्। विद्यालय परिवारका अनुसार डान्सिङ आइडलको अन्तिम चरणसम्म विद्यार्थीहरूको प्रतिभालाई थप निखार्दै उत्कृष्ट प्रस्तुति गराउने तयारी भइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *