लामो रस्साकस्सीपछि सुन्दरहरैंचा–२ मा नन्दु खवास सर्वसम्मत वडा सभापति
सहमति जुटाउन अग्रजको भूमिका, विवश प्रधानको त्यागले खुल्यो नेतृत्व हस्तान्तरणको बाटो
सुन्दरहरैंचा / मोरङ क्षेत्र नं. ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–२ मा नेपाली कांग्रेसको वडा नेतृत्व चयनका क्रममा लामो समयदेखि देखिएको आन्तरिक रस्साकस्सी अन्ततः सहमतिमा टुंगिएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको वडा अधिवेशनबाट नन्दु खवास सर्वसम्मत वडा सभापतिमा चयन भएका छन्।
वडा सभापतिको नेतृत्वका लागि वर्तमान वडा अध्यक्ष विवश प्रधान र नन्दु खवासबीच प्रतिस्पर्धाको वातावरण बनेपछि अधिवेशनलाई सहमतिमै टुंग्याउन वडा तहका अग्रज नेताहरू सक्रिय भएका थिए। लामो छलफल, संवाद र आन्तरिक सहमतिपछि खवासलाई वडा सभापतिको जिम्मेवारी दिने निर्णय भएको हो।
सहमति निर्माणमा वडा कांग्रेसका अग्रज नेतृत्वकर्ता दीपक भगत, प्रताप खवास, पार्वती धामी गच्छदार, जनार्दन चौधरी तथा डोरीलाल चौधरी लगायतको भूमिका महत्वपूर्ण रहेको कांग्रेस कार्यकर्ताहरूले बताएका छन्।
नेतृत्व चयनको प्रक्रियामा देखिएको प्रतिस्पर्धालाई विभाजनतर्फ जान नदिई संगठनलाई एकताबद्ध बनाउने उद्देश्यले अग्रज नेताहरूले निरन्तर संवाद र सहमतिको प्रयास गरेका थिए। अन्ततः उनीहरूको पहलले प्रतिस्पर्धाको वातावरणलाई सहमतिमा रूपान्तरण गरेको हो।
प्रधानको ‘त्याग’ले बनायो सहमतिको बाटो
सुन्दरहरैंचा–२ का वर्तमान वडा अध्यक्ष विवश प्रधान नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका हुन्। पार्टी संगठनमा समेत सक्रिय प्रधान क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।
वडा सभापतिको नेतृत्वमा आफ्नो दाबी रहे पनि संगठनभित्रको एकता र सहमतिलाई प्राथमिकता दिँदै प्रधानले अग्रज नेताहरूको सुझाव स्वीकार गरेको कांग्रेसका स्थानीय कार्यकर्ताहरूको भनाइ छ।
संगठनलाई बलियो बनाउने र वडा कांग्रेसलाई थप व्यवस्थित बनाउने विषयमा आफ्नो अडान राख्दै आएका प्रधान अन्ततः नेतृत्वका लागि सहमतिको बाटो रोजेपछि उनलाई कार्यकर्ताबीच ‘त्यागी नेतृत्व’ का रूपमा चर्चा गर्न थालिएको छ।
प्रधानको यो निर्णयले व्यक्तिगत आकांक्षाभन्दा संगठनात्मक एकतालाई प्राथमिकता दिएको सन्देश गएको कांग्रेसका स्थानीय नेताहरूको बुझाइ छ।
नन्दुको काँधमा नयाँ जिम्मेवारी
सर्वसम्मत वडा सभापतिको जिम्मेवारी पाएका नन्दु खवास सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। लामो समयदेखि देखिएको आन्तरिक प्रतिस्पर्धापछि सर्वसम्मत सभापतिको जिम्मेवारी पाएका खवासका लागि अब सबै पक्षलाई समेटेर संगठन अघि बढाउने चुनौती थपिएको छ।
विशेषगरी विगतका १३औँ र १४औँ महाधिवेशनपछि वडा संगठन अपेक्षाअनुसार सक्रिय हुन नसकेको केही क्रियाशील सदस्य तथा स्थानीय कार्यकर्ताको गुनासो छ। यही पृष्ठभूमिमा नयाँ नेतृत्वले वडा संगठनलाई चलायमान बनाउने, क्रियाशील सदस्यबीच समन्वय बढाउने र पार्टीका गतिविधिलाई वडा तहसम्म प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सर्वसम्मत चयनले खवासलाई नेतृत्व गर्ने अवसर मात्रै दिएको छैन, संगठनलाई एकताबद्ध र प्रभावकारी बनाउने जिम्मेवारीसमेत थपेको छ। अधिवेशनका क्रममा देखिएको आन्तरिक प्रतिस्पर्धापछि सबै पक्षलाई समेटेर अघि बढ्नु उनको पहिलो राजनीतिक परीक्षणसमेत बन्ने देखिन्छ।
अबको चुनौती संगठन सुदृढीकरण
स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा सुन्दरहरैंचा–२ मा कांग्रेसको नयाँ वडा नेतृत्वमाथि संगठन सुदृढीकरणसँगै निर्वाचन तयारीको जिम्मेवारी पनि थपिएको छ।
वडा तहमा पार्टीको जनाधार बलियो बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने, विभिन्न समूहबीच समन्वय कायम गर्ने तथा आगामी निर्वाचनमा पार्टीका उम्मेदवारका पक्षमा संगठनलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषय नयाँ नेतृत्वका लागि महत्वपूर्ण बन्नेछ।
अधिवेशनमा देखिएको प्रतिस्पर्धालाई सहमतिमा रूपान्तरण गर्दै नेतृत्व हस्तान्तरण भएको सुन्दरहरैंचा–२ मा अब नन्दु खवासले सबै पक्षलाई समेटेर संगठनलाई कुन दिशामा अघि बढाउँछन् भन्ने विषयले नै उनको नेतृत्वको प्रभाव मापन गर्नेछ।
एकातर्फ अनुभवी नेतृत्वको सहमति र अर्को्तर्फ नयाँ नेतृत्वप्रतिको अपेक्षाबीच सुन्दरहरैंचा–२ को कांग्रेस संगठनले आगामी दिनमा कस्तो गति लिन्छ भन्ने चासो स्थानीय राजनीतिक वृत्तमा बढेको छ।




