रेडस्टार माविका एनसीसी क्याडेटलाई शुभकामना सहित विदाई कार्यक्रम सम्पन्न

 

पथरी शनिश्चरे, असोज ०६
मोरङको पथरी शनिश्चरे–२ मा रहेको रेडस्टार माध्यमिक विद्यालयले नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) ५२औँ ब्याच जुनियर डिभिजनमा तालिमरत विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।
आज मङ्गलबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रिय सेवा दल ५२औँ ब्याच जुनियर डिभिजनअन्तर्गतको ७९ दिने संस्थागत तालिममा सहभागी विद्यार्थीहरूलाई शुभ-कामना सहित विदाई गरिएको हो।
आउँदो असोज ८ गते बिहीबारदेखि मोरङको याङशिलास्थित श्री राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा सामूहिक ‘क्लोज क्याम्प हुन गइरहेको छ।
“अनुशासन नै राष्ट्रसेवाको मूल जग हो” भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै सञ्चालन भइरहेको एनसीसी तालिमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास, आत्मरक्षा तथा राष्ट्रप्रतिको जिम्मेवारीबोध विकास गर्ने उद्देश्य राखेको छ।
कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले एनसीसी क्याडेटहरूले तालिमका क्रममा हासिल गरेको ज्ञान, सीप र अनुशासनलाई व्यवहारमा उतार्दै विद्यालय, अभिभावक तथा समग्र पथरी शनिश्चरे नगरपालिकाको गौरव र प्रतिष्ठा बढाउने गरी उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिनुभयो।
उहाँले तालिममा सिकेका कुरालाई आफ्नो व्यक्तिगत जीवनमा समेत प्रयोग गर्दै देशप्रेम, कर्तव्यबोध र जिम्मेवारीको भावना विकास गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। देशलाई आवश्यक पर्ने जुनसुकै अवस्थामा पनि आफूलाई सक्षम र कर्मठ नेपाली नागरिकका रूपमा प्रस्तुत गर्न सक्ने गरी तालिमलाई अवसरका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वीरदत्त पन्त, पथरी शनिश्चरे नगरपालिका–२ का वडाध्यक्ष नैना साम्पाङ, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, विद्यालय संचालक समिति सदस्य विजय डाँगी , वडा सदस्यहरू चन्द्रकुमार राई र खिलनाथ घिमिरे , शान्ति टोल विकास समितिका अध्यक्ष राजकुमार गेलाल, पथरी उद्योग वाणिज्य संघका महासचिव तथा बुद्धटोल विकास समिति अध्यक्ष अशोककुमार राई ,नेपाली सेनाको शिवदत्त गणका जमदार नरेन्द्रबहादुर बयक, श्रीनाथ गणका अम विजय खड्का ,सोहि गणकी तालिम प्रशिक्षक ज्योति श्रेष्ठ,शिवदत्त गणका अम सुरेन्द्र धानुक , विद्यार्थी, अभिभावकको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका प्राचार्य टी.एन. तिम्सिनाले स्वागत मन्तव्य राख्दै एनसीसी तालिम विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन र नेतृत्व क्षमताका लागि महत्वपूर्ण रहेको बताउनुभयो।
त्यस्तै, शिवदत्त गणका जमदार नरेन्द्रबहादुर बयकले याङशिलामा सञ्चालन भइरहेको सामूहिक तालिममा सहभागी विद्यार्थीहरूले विभिन्न शैक्षिक तथा खेलकुद आदिका गतिविधिहरुमा उत्कृष्ट प्रदर्शन गर्दै अनुशासन, सहकार्य र सामूहिक भावनालाई अझ मजबुत बनाउने उल्लेख गर्नुभयो । उहाँले तालिमबाट प्राप्त अवसरलाई सदुपयोग गर्दै राष्ट्र र समाजका लागि जिम्मेवार नागरिक बन्न विद्यार्थीहरूलाई शुभकामना दिनुभयो। सोही क्रममा,
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वीरदत्त पन्तले एनसीसी तालिमले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, आत्मरक्षा तथा नेतृत्व क्षमताको विकास गर्ने बताउनुभयो। भविष्यमा राष्ट्रलाई जुनसुकै बेला आवश्यक पर्ने एक असल नागरिकको रूपमा आफूलाई स्थापित गर्दै आपत्कालीन परिस्थितिमा समेत जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न सक्ने नागरिकका रूपमा आफूलाई तयार पार्न उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।
त्यस्तै, पथरी शनिश्चरे नगरपालिका–२ का वडा सदस्य चन्द्रकुमार राईले तालिमका क्रममा अनुशासनमा रहेर उत्कृष्ट प्रदर्शन गर्न विद्यार्थीहरूलाई शुभकामना दिनुभयो।

कार्यक्रम विद्यालयका प्राचार्य तथा ऋतम्भरा बहुमुखी क्याम्पस (कलेज) का प्राचार्य टी.एन. तिम्सिनाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई सफल तालिम तथा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ गरिएको छ।कार्यक्रममा एनसीसी क्याडेट विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति समेत प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
७९ दिने संस्थागत तालिम पूरा गरेका रेडस्टार माध्यमिक विद्यालयका ३० जग्गा एनसीसी क्याडेटहरू अब याङशिलास्थित श्री राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा सञ्चालन भइरहेको सामूहिक ‘क्लोज क्याम्प’मा सहभागी हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *